कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६
352

फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्सको तयारी पुरा भएको आयोजक संस्थाले जानकारी दिएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा यही भदौ २५ गतेदेखि चल्ने सातौं संस्करणको फर्नेक्स २०१९ को सबै तयारी पुरा भएको संघका अध्यक्ष रुपेश प्रधानले बताए । “विगत वर्षमा जस्तै यस पटक मेलाको सबै तयारी पुरा भएको छ । परिष्कृत रुपमा मेला आयोजना हुन लागेको जानकारी गराउँन पाउँदा हामीलाई खुसी लागेको छ,” संघका अध्यक्ष प्रधानले पत्रकार सम्मेलनमा भने ।
बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने बताइएको छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकको भनाई छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकको विश्वास छ ।
फर्नेक्स २०१९ को शिर्ष प्रायोजक जेम फ्लोरिङले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रा.लि, हाइटेक्स कार्पेट, जेन्शा कार्पेट र हलेसी डेकोर रहेका छन् । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले समर्थन गरेका छन् । यसैगरी यस एक्सपोलाई नेपाल हस्तकला महासंघ र नेपाल इन्टेरियर डिजाइनर एशोसीएसनले सहयोग गरेका छन् ।