मनोरञ्जन शर्मा
बिहिवार, भदौ १९, २०७६
228

राइस मिलदेखि निर्माण सामग्रीको साम्राज्यसम्म

रूपन्देही-देशकै अग्रणी औद्योगिक तथा व्यावसायिक समूह पञ्चकन्या गु्रप सुरु हुनुभन्दा पहिला गु्रपका संरक्षक तथा अध्यक्ष प्रेमवहादुर श्रेष्ठले २०२९ सालमा झापाको विर्तामोडमा पञ्चकन्या राइस मिल र पञ्चकन्या स–मिल (काष्ठ उद्योग) सञ्चालनमा ल्याएका थिए । अहिलेको पञ्चकन्या गु्रपको जग अर्थात् सुरूवाती व्यवसायका रूपमा रहेको राइस मिल र स–मिल करिब १० वर्षसम्म त्यहाँ सञ्चालन गरेपछि श्रेष्ठले सुदुर पूर्वी नेपालबाट एकैपटक पश्चिम नेपालमा आएर उद्योग व्यवसाय सञ्चालन गर्ने योजना बनाए ।
२०३८ सालमा पश्चिम नेपालको अन्यत्र स्थान भन्दा रूपन्देहीमै उद्योग स्थापना गर्ने निर्णय गरेका श्रेष्ठले त्यतिबेला जुन सोच र दूरदृष्टिका साथ रूपन्देहीमा उद्योग स्थापना गर्ने योजना बनामए, वर्तमान समयमा त्यो मिल्न गएको छ । अहिले धेरैको रोजाई उद्योग कलकारखानाका लागी रूपन्देही बनेको छ ।

रूपन्देहीको कोटिहवामा उद्योग स्थापना गरी २०३९ सालदेखि उत्पादन सुरू गरेको पञ्चकन्या गु्रपको जन्म पनि रूपन्देहीमै आएर भएको हो । “रूपन्देहीको कोटिहवामा उद्योग स्थापना गर्नुमा बुवाको दुरदर्शी सोच प्रमुख रह्यो,” बुवासँगै उद्योग स्थापनाका लागी भैरहवा आएका जेष्ठ पुत्र धु्रवकुमार श्रेष्ठले भने । बुवाले तत्कालीन समयमा जुन सोच, योजनासहित यहाँ उद्योग स्थापना गर्ने निर्णय गर्नु भयो, वास्तवमा त्यो एकदम ठिक रह्यो र अहिले यो स्थान नेपालकै अब्बल स्थान रहेको प्रमाणित पनि भइसकेको पञ्चकन्या ग्रुपका उपाध्यक्ष समेत रहेका धु्रवकुमार श्रेष्ठ बताउँछन् ।
रूपन्देही नेपालको मध्य भागमा अवस्थित छ, यहाँ उद्योग स्थापना गरेपछि मालसामान तथा बस्तु ढुवानी गर्न देशैभर सजिलो हुने, भारतीय सीमावर्ती क्षेत्र नजिकै रहेकोले औद्योगिक कच्चा पदार्थ आयात गर्न सजिलो हुने, “पूर्वाधारको बिकास हुने क्रम सुरू भएको वाटो घाटो बनेको जस्तो कारणले गर्दा नै बुवाले रूपन्देहीमा उद्योग स्थापना गर्ने योजना बनाउनु भएको हो, जुन अहिले सत्य सावित भयो,” श्रेष्ठले पुराना कुरा स्मरण गर्दै भने ।
बुवासँगै रूपन्देही आउँदा उनी करिब २० वर्षको थिए । “बुवा ३९÷४० वर्षको हुनुहुन्थ्यो, राइस मिलबाट सुरू भएको व्यवसाय आज देशकै अग्रणी गु्रप बनेकोमा गर्व छ,” उनले भने । त्यसो त पुख्र्याैली घर इलाम जिल्ला रहेका श्रेष्ठको फिक्कल माथि कर्फोक भन्ने ठाउँमा पञ्चकन्या देवीको मन्दिर रहेको छ । सुरूबाटै मन्दिरको रेखदेख र संरक्षण पिता प्रेम बहादुरले गर्ने गर्दथे । मन्दिरकै नामबाट राइस मिल र स–मिलको नाम रहेको थियो । देवीलाई सम्मान दिन औद्योगिक समूहको नाम पञ्चकन्या गु्रप राखिएको श्रेष्ठले बताए । अहिले पनि सो मन्दिरको संरक्षण आफुहरूले गरिरहेको श्रेष्ठको भनाई छ ।
रूपन्देहीमा उद्योग स्थापनापछि ३९ सालमा एचडिपी पाइपको उत्पादन सुरू भयो । त्यसपछि पञ्चकन्या छड उत्पादन भयो । पञ्चकन्या छड आउनु अघि नेपालमा हिमाल स्टिलले छड उत्पादन गर्दथ्यो । ३९ सालमा भैरहवा क्षेत्रमा औलामा गन्न सकिने गरी उद्योगहरू थिए ।
ठुटिपिपलको लुम्बिनी फ्लावर मिल र भैरहवा गल्लामण्डीको महेन्द्र सुगर मिल ठुला उद्योगका रूपमा चिनिन्थे । प्लास्टिक तथा छड उत्पादन गर्ने नयाँ उद्योग स्थापना भएसँगै उत्पादित सामानहरूले सहज रूपमा बजार लिन सके । “उद्योग सञ्चालन गर्ने भन्दैमा जे पायो त्यही उद्योग हामीहरू सञ्चालन गर्दैनौँ । बजारको माग, संभाव्यता अध्ययन गरेर मात्र नयाँ उद्योगमा हात हाल्छौँ,” उनी भन्छन् ।
गुणस्तरमा विशेष ध्यान दिने भएकाले गुणस्तरका कारणले नै उपभोक्ताले आफूहरूलाई विश्वास गरेको उनको भनाइ छ । त्यसैले पञ्चकन्या गु्रपबाट उत्पादित वस्तु तथा सामानको गुणस्तरका लागि कसैसँग संझौता गर्दैनन् । हामी सदैव गुणस्तरीय सामानहरू आम उपभोक्तालाई दिन्छौ । हाम्रो ४७ वर्षको यात्रामा सफल हुनुको मुख्य कारण पनि गुणस्तरीय सामान उपभोक्तासम्म पु¥याउन सक्नु हो’, श्रेष्ठले भने ।
पञ्चकन्या गु्रप अन्तरगत पञ्चकन्या स्टील, पन्चकन्या रोटोमल, पन्चकन्या प्लास्ट, पञ्चकन्या एचडिपी पाइप, पञ्चकन्या वायर ईन्डस्ट्रिज, पञ्चकन्या नेल इन्डस्ट्रिजबाट स्टिल सँगै, एचडिपिइ पाईप प्लास्टिक, पीभीसी पाईप फिटिंग, सिपीभीसी पाईप फिटिंग्स, एसएस टैन्क, एसएस रंगिन, कर्कट पातालगायतका सामग्री उत्पादन गर्दै आएको छ ।
निर्माण सामग्री उत्पादनकर्ताका रूपमा अग्रणी रहेको पञ्चकन्या समूहको जलविद्युत्, हाउजिंग, अस्पताल लगायतका क्षेत्रमा समेत लगानी रहेको छ । समूहको हेटौडा क्षेत्रमा बिटुमिन (अलकत्रा) र सिलिन्डर उद्योग तथा काठमाण्डौमा रेडिमिक्स (घर ढलान गर्न प्रयोग हुने, सिमेन्ट, बालुवा, गिटीको तयारी मिश्रण) उद्योग रहेको छ ।
८ वर्ष अघिदेखि पीभीसी पाइप तथा फिटिंग्स भारत निर्यात गरिरहेको छ । व्युरो अफ ईण्डियन स्टयाण्डर्ड (आईएसआई)बाट मान्यता प्राप्त गरिसकेको पीभीसीले भारतमा राम्रो बजार लिएको उद्योगका योजना प्रमुख देवेन्द्र साहु बताउँछन् । पञ्चकन्या गु्रपले अमलेखगन्जमा बिटुमिन उद्योग सञ्चालन गरेको छ भने घरढलानका लागी रेडिमिक्स तयार समेत गर्छ । त्यस्तै गरी ग्यास सिलिण्डर उत्पादन तथा हाइड्रोपावर क्षेत्रमा पनि लगानी रहेको छ । नयाँ प्लास्टिक वस्तु उद्योग तथा सिमेन्ट क्लिन्कर उद्योग सञ्चालन गर्ने सोच पनि गु्रपको छ ।
‘सुरू देखि नै नेपाली बजारमा पञ्चकन्या छड (पछी पञ्चकन्या स्टिल) को लोकप्रियता कायम रह्यो । नेपालीहरूले घर निर्माण गर्दा पञ्चकन्या छड नै रोजे’, उपाध्यक्ष श्रेष्ठले भने– ‘यो सवै गुणस्तरका कारणले गर्दा हो । म सवै ग्राहकहरूलाई धन्यवाद पनि दिन चाहन्छु आजको दिनमा, विगत ३७ वर्षदेखि हाम्रा उत्पादनमा विश्वास गर्नु भएको छ । बजार हिस्साको कुरा गर्दा अहिले बजारमा एक दर्जन बढी स्टिल उद्योग छन् र तिनीहरू मध्ये हाम्रो बजार हिस्सा करिब ४० प्रतिशतको हाराहारीमा रहेको छ ।’
तत्कालिन समयमा उद्योग स्थापना गरी सञ्चालनमा ल्याउन पनि समस्या थियो, अहिले पनि समस्या रहेको श्रेष्ठको भनाई छ । त्यतिबेला दक्षजनशक्ती, कामदार, ढुवानी गर्ने साधनह पनि अभाव हुन्थ्यो । ‘कामदारहरू काम सिकेर बिदेश गैदिन्छन् । दक्ष कामदारमा समस्या छ । उनले भने– ‘तर अहिलेको मुख्य समस्या हाम्रो उद्योगलाई मात्र नभई देशले राजनीतिक स्थिरता, लगानी मैत्री वातावरण हो । अहिले बहुमतको सरकार छ, अहिले राम्रो वातावरण रसमय हो, लगानी मैत्री बनाउने सरकारका लागी, अहिले राम्रो नीति बनेन भने कहिल्यै बन्दैन, उनले भने। हामीले खोजेको लगानी मैत्री वातावरण हो ।
पञ्चकन्या गु्रपकोे सफलताको सुत्र के हो भन्ने प्रश्नमा श्रेष्ठले सफलताको पहिलो सुत्र नै बुवाको मेहनत, पसिना र लगानी रहेको बताउँछन् । ‘उहाँले जग बसालिदिनु भयो र हामीले जगमा ईट्टा थप्दै गयांै । बुवाको साथमा भाइहरू प्रदिपकुमार श्रेष्ठ र बद्रीकुमार श्रेष्ठको पनि बराबर हात छ गु्रपलाई सफलता दिलाउन’, श्रेष्ठले भने– ‘गुणस्तरलाई ध्यान दिइयो भने कहिल्यै पनि असफल भइँदैन् । हाम्रा उत्पादनलाई अहिलेसम्म कसैले नराम्रो छ भनेर औला देखाएका छैनन् । सफलताको कारक तत्व पनि यही हो ।उनले भने ।