कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६
340

मानव संशाधन समाज नेपाल ले आठौं राष्ट्रिय मानव संशाधन सम्मेलन २०१९ आयोजना गर्ने भएको छ । मानव संशाधन विकासको क्षेत्रमा लागिपरेको मानव संशाधन समाज नेपाल (एचआरएसएन)ले यहि सेप्टेम्बर ६ तारिख अर्थात भाद्र २० गते आठौं राष्ट्रिय मानव संशाधन सम्मेलन २०१९ राजधानीमा आयोजना गर्ने भएको हो । यस सम्मेलनको मुख्य नारा ‘अपस्किलिङ एण्ड रिस्किलिङ एचआर’ रहेको छ ।
यस सम्मेलनमा नेपालका विभिन्न संघ संस्थामा कार्यरत मानव संशाधन अधिकृत, व्यवसायीक व्यक्तित्वहरू, ट्रेनिङ म्यानेजर, प्रमुख कार्यकारी अधिकृत, निर्देशकहरू, एचआर प्रोफेसनल लगायतको सहभागिता रहनेछ ।

राष्ट्रिय मानव संशाधन सम्मेलन यस संस्थाको नियमित वार्षिक कार्यक्रम हो । यो नियमित संम्मेलनबाट नेपालमा मानव संशाधनको अवस्था र यसको प्रयोगको बारेमा विश्लेषण गर्दै भविश्यको लागि कस्तो मानव संशाधन आवश्यक पर्छ भन्ने बारे दिशानिर्देशन गर्न सहयोग पु¥याउँछ ।
यस कार्यक्रममा पहिलो पटक नेपालमा गरिएको नेपाल स्कील रिपोर्टको प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिनेछ । ‘नेपाल स्कील रिपोर्ट’ नामक प्रारम्भिक अध्ययन प्रतिवेदनमा नेपालका विभिन्न संघसंस्थाहरूमा के कस्तो सिप र योग्यता भएको मानव संशाधनको आवश्यकता रहेको छ भन्ने बारेमा अध्ययन गरिएको छ । राष्ट्रिय मानव संशाधन सम्मेलन २०१९ का संयोजक तथा मानव संशाधन समाज नेपालका उपाध्यक्ष मधु पौडेलले सम्मेलनमा पहिलो पटक विभिन्न संस्थाहरूमा गरिएको मानव संशाधनको अवस्था बारेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिए ।
‘राष्ट्रिय एचआर सम्मेलनले आधुनिक र विकासको चरणमा रहेको नेपालको मानव संशाधन कस्तो हुनुपर्नेछ भन्ने बारेमा छलफल गर्ने प्लेटफर्म तयार पार्नेछ, मानव संशाधनको क्षेत्रमा देखिएका कमी कमजोरीलाई सुधार गर्ने र भविश्यमा स्तरिय मानव संशाधन विकास गर्न सहयोग पुर्याउनेछ,’ राष्ट्रिय मानव संशाधन सम्मेलन २०१९ का संयोजक तथा मानव संशाधन समाज नेपालका उपाध्यक्ष पौडेलले भने ।
अपस्किलिङ एण्ड रिस्किलिङ एचआर विषयमा केन्द्रित रहि विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय विषय विज्ञहरूले आफ्ना विचारहरू प्रस्तुत गर्ने छन् भने मानव संशाधन प्रकृयालाई प्रभावकारी बनाउन आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बारेमा समेत छलफल हुनेछ । विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, व्यवसायीक व्यक्तित्व र एकेडेमिसिएनहरूका विचमा प्यानल डिस्कसन समेत हुनेछ ।
स्वदेश र विदेशका गरि करिब २५० जना भन्दा बढि एचआर विज्ञ, व्यवस्थापन विज्ञहरूले राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंक, वित्तीय संस्थाहरू, बहुराष्ट्रिय कम्पनीहरू, गैरसरकारी संस्थाहरू, उत्पादनमूल्यक कम्पनीहरू, सूचना प्रविधि, पूर्वाधार, बीमा, निर्माण र परामर्शको क्षेत्रबाट सहभागिता जनाउने छ ।

 


सातामा धेरै पढिएको