कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६
328

धनगढी- कैलाली हार्डवेयर व्यवसायी संघले धनगढीमा निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी २०७६ आयोजना गर्ने भएको छ । संघले बुधबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी संघीय प्रहरी ईकाईको मैदानमा असोज १२ देखि १५ गतेसम्म दोस्रो पटक प्रदर्शनी आयोजना गरिने जनाएको छ । संघका अध्यक्ष सुरेन्द्र राठीले ग्राहक र व्यवसायीबीच अन्तरक्रियाको माध्यमबाट निर्माण सामग्री तथा हार्डवेयरको पहिचान गर्न मद्दत पु-याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको बताए ।
उनले कतिपय ग्राहकहरुले निर्माण कार्य गर्दा सामग्री छनौटमा अलमलमा पर्ने र गुणस्तरीय सामग्री खरिद गर्नबाट चुक्ने गरेकाले त्यस्ता ग्राहकलाई सामग्री छनौटमा सहयोग गर्ने समेत प्रदर्शनीको उद्देश्य रहेको बताए । उनले प्रदर्शनीबाट ग्राहकहरुले आवश्यक सामग्रीको अर्डर समेत गर्न सक्ने व्यवस्था गरिने बताए ।

सुदूरपश्चिममै उद्योगहरु नभएका कारण सिमेन्ट र छड जस्ता निर्माण सामग्री अन्य प्रदेशबाट ल्याउनु पर्दा ढुवानी महंगो पर्ने गरेको सुनासो बढेको बेला निर्माण सामग्री तथा हार्डवेयरमा सरकारको ध्यानाकर्षण भई केही सहुलियतको व्यवस्था गर्न समेत मद्दत पुग्ने संघले आशा गरेको छ । अध्यक्ष राठीले प्रदेश सरकारले केही सवसिडी दिएर प्रदेशमै उत्पादनको वातावरण बनाउने वा ढुवानी सहज बनाउने तर्फ सरकारको ध्यानाकर्षण हुने बताए । निर्माण सामग्री टाढाबाट ढुवानी गर्नु पर्दा सुदूरपश्चिम प्रदेशमा रहेका आयोजनाको निर्माण खर्च समेत बढेको बेला प्रदर्शनीले त्यस्तो खर्चलाई व्यवस्थापनमा मद्दत गर्ने समेत विश्वास गरिएको छ ।
प्रदर्शनीमा करिब ७० भन्दा बढि निर्माण सामग्री तथा हार्डवेयर उत्पादक कम्पनी तथा व्यवसायीहरुको स्टल रहने संघका महासचिव कुवेशबहादुर शाहीले बताए । उनले प्रदर्शनीमा विभिन्न कलाकारको प्रस्तुतीहरु समेत रहने जनाए ।