नीरज पिठाकोटे
बिहिवार, भदौ १९, २०७६
391

वीरगञ्ज-नेपालका लागि श्रीलंकाकी राजदूत स्वर्णलथा परेराले नेपाल र श्रीलंकाबीच व्यापार र पर्यटनमा दुईपक्षीय सम्झौता आवश्यक रहेको बताएकी छन् । वीरगन्जको विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन भ्रमणपछि वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँगको छलफलमा उनले श्रीलंका र नेपाल दुवैदेश सांस्कृतिक र प्राकृतिक रुपले पनि समान रहेकोले दुईदेशबीचको सम्बन्धलाई अझ उचाइमा पु-याउन पर्यटन, उद्योग र सहकारी तथा पारवहनमा सहकार्य आवश्यक रहेको बताए ।
नेपाल र श्रीलंकाबीचको व्यापारलाई स्थापित गर्नका लागि पनि आफ्नो वीरगन्ज भ्रमण उपयोगी हुने बताउदै उनले वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीलाई श्रीलंका भ्रमणका लागि आग्रह गरिन् ।

व्यापार व्यवसायको स्थायीत्वका लागि दुवैपक्षको वीन वीन सिचुएसन आवश्यक रहेको बताउदै राजदूत परेराले श्रीलंकाको निजीक्षेत्रको संगठनसँग पनि छलफल र अन्तकृया अगाडि बढाउन आग्रह गर्दै त्यसको समन्वयको लागि श्रीलंका सरकारको तर्फबाट आपूmले पहल गर्ने प्रतिवद्धता जनाईन् । अयोध्याका राम र जानकीकी सीता तथा श्रीलंकाको रावणसँगको ऐतिहासिक र धार्मिक सम्बन्ध पनि रहेकोले यसले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा उनले गरिन् ।
श्रीलंका बुद्ध धर्मप्रति बढी आस्था राख्ने भएकोले नेपालको लुम्बिनी श्रीलंकन भक्तजनहरुको गन्तव्य स्थल रहेको जानकारी दिदै उनले नेपालका लुम्बिनी बाहेक बुद्धसँग सम्बन्धित अन्य कयौं स्थानहरु पनि रहेको तर, त्यसको बारेमा श्रीलंकनहरुलाई जानकारी नरहेकोले यसको व्यापक प्रचार प्रसार गर्न सके नेपाल सरकारले तय गरेको भिजिट २०२० को अभियान पनि सफल हुने बताईन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अशोक वैद्य तथा वीरगन्ज महानगरपालिकाका सदभावना दूत अशोक वैदले श्रीलंकन राजदूत परेराको भ्रमणले रामायण सर्किटको अवधारणालाई पनि सार्थक बनाउनेमा विश्वास व्यक्त गरे । उनले राजदूत परेराको वीरगन्ज भ्रमणले यहाँको धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा स्वागत गर्दै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले दुईदेशीय व्यापार सम्झौता भएर पनि काम सफल हुने धेरै सम्भावना भएको तर, चाहे अनुसारका श्रीलंकाको लगानी वीरगन्ज क्षेत्रमा नआएकोले यहाँ लगानी गर्न आउनेमा आशावादी रहेको बताए । महंगो यातायात ढुवानी लागत लगायतका अन्य धेरै कारणले व्यापार सम्झौता अनुसारको काम नभएको भन्दै यसलाई बि टु बिको वार्ताबाट सुधार ल्याउनुपर्ने सुझाव दिए ।
वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल कुमार अग्रवालले श्रीलंका पर्यटकीय क्षेत्र भएपनि त्यहाँको महंगीकै कारणले श्रीलंका भ्रमण खर्चिलो हुँदा नेपालीहरुको गन्तव्य बन्न नसकेको बताउदै यसलाई पनि ध्यान दिन आग्रह गरे ।
नेपालका लागि श्रीलंकाका राजदूत परेराले वीरगन्जको भिस्वा डाडाको अवलोकन गरी वीरगन्जको घडिअर्वा पोखरीमा शुरु गरिएको सूर्यगंगा आरतीको पनि दर्शन गरेकी थिईन् । उनको साथमा राजदूतावासकी प्रथम सचिव दिनेशा समारासिंघेको पनि सहभागिता रहेको वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले बताए ।


सातामा धेरै पढिएको