कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६
551

ताप्लेजुङको फुङलिङ नगरपालिकाले पाथीभरा क्षेत्रमा होटल व्यवसाय गर्नेलाई करको दायरमा ल्याएको छ । उक्त क्षेत्रका सरकारी जमिनमा घर बनाएर अस्थायी बसोवास गरि व्यवसाय गर्नेलाई ५ सय देखि २५ हजारसम्म कर तोकेको छ । तेस्रे क्षेत्रमा ५ सय,सेवारो चोक र भालुगौडेमा १ हजार ५ सय,छाते ढुङ्गामा २ हजार, गुप्ते-देउराली क्षेत्रमा प्रतिघर ३ हजार ५ सय,काफ्लेपाटीमा ९ हजार, बलु डाँडादेखि गुँरासे क्षेत्रमा ७ हजार ५ सय र ठुलो फेदि क्षेत्रमा २५ हजार कर तोकेको छ ।
फुङलिङ नगरपालिकाले आर्थिक वर्ष २०७६ असार १० गते सार्वजनिक गरेको ‘नगर राजपत्र’ को अनुूची–८ मा बहाल विटौरी कर (ग) मा वार्षिक करसम्बन्धि उल्लेख गरिएको छ । फुङलिङ नगरपालिका नगरप्रमुख छत्रपति प्याकुरेलले करको दायरमा ल्याउने क्रममा व्यवहारिकता अपनाएर कर निर्धारण गरिएको जानकारी दिए । नगरप्रमुख प्याकुरेलले भने, “वार्षिक लाखौ तिर्थयात्री आउँछन् । तिर्थयात्रीको चापअनुसार व्यवसाय फस्टाउने भएकाले तोकिएको कर न्यायोचित छ ।” विद्युत्, खानेपानी,नाली,सरसफाईको काम नगरसरकारले प्राथमिकतामा राखेको छ । यद्यपी पाथीभरा क्षेत्रमा व्यवसाय संञ्चालन गर्ने कतिपय व्यवसायी सन्तुष्ट छैनन् ।नाम नखुलाउने सर्तमा एक व्यवसायीले दिएको जानकारी अनुसार सामुदायिक वनलाई पनि नगरपालिकासरह कर तिर्नुपर्छ ।

नगरपालिकाको वार्ड नं. १० फुरुम्बु र ११ फावाखोला क्षेत्रमा पर्ने सामुदायिक वनले रकम असुल गर्ने गरेको छ । यद्यपी लेनदेनको कारोवार गुपचुप हुन्छ । व्यवसायीका अनुसार तिरेको कुरा बाहिर आए भोलीको व्यवसाय नै धरापमा पर्ने खतरा छ । व्यवसाय बन्द भए हात मुख जोर्न मुश्किल हुने भएकाले लेनदेनका कारोवार सार्वजनिक हुँदैनन् । माथिल्लो फेदिबाट प्रतिघर २५ हजारका दरले ४ लाख रुपैयाँ संकलन हुने पाथीभरा क्षेत्र होटल व्यवसायी सँघ इकाई अध्यक्ष इन्द्रनारायण भट्टराईले बताए ।
वलु डाँडाबाटै १३ घरले १ लाख हाराहारीमा कर बुझाउनुपर्छ । देउरालीदेखि माथिल्लो फेदिसम्मगरि ५ दर्जन होटल संञ्चालनमा छन् । अध्यक्ष भट्टराईले भने, “स्थानीय सरकारले तोकेको कर तिर्छौ । तर कर तिरेवापत सुविधा पाउने अपेक्षा छ ।” व्यवसाय गरि कमाएको तर पाथीभरा क्षेत्रको विकासमा चासो नदेखाएको आरोप खेप्दै आएका उक्त क्षेत्रका व्यवसायी पछिल्लो समयमा लगानीमा पनि जोडिएका छन् । करिब २ सय मिटर पैदलमार्ग उक्त क्षेत्रका बासिन्दाको लगानीमा निर्माण गरेका छन् ।
हरियो जंगल जोगाउने दायित्व पाथीभरा क्षेत्रका बासिन्दाको मुख्य सर्त हुनुपर्नेमा जोड दिइएको छ । पाथीभरामा वार्षिक ३ लाख दर्शनार्थी आउने गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । नेपालबाहेक भारतका दार्जिलिङ,सिक्किम,मनिपुर र आसम लगायत क्षेत्रबाट दर्शनार्थी आउने गरेका छन् । पाथीभराकै कारण सदरमुकामवाहेक पाँचथर र इलामका व्यवसाय फस्टाउन मदत पुगेको छ ।

देवराज गुरुङ