कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६
218

धनगढी-सशस्त्र युद्धको समयमा धरासायी भएका सुदूरपश्चिम प्रदेशका लघु, घरेलु तथा साना उद्योगहरु तंग्रिन थालेका छन् ।
२०६२-०६३ को आन्दोलनपछि सुदूरपश्चिममा लघु, घरेलु तथा साना उद्योगहरु स्थानपना हुने क्रम पुनः शुरु भएको हो । सशस्त्र युद्धपछिको राजनीतिक विकास क्रमसँगै निजी क्षेत्रले स–साना उद्योग स्थापना गरी सञ्चालन गर्न थालेका हुन् ।

सशस्त्र युद्ध शुरु हुनु भन्दा पहिले सुदूरपश्चिम प्रदेशमा नौ हजार नौ सय ७३ वटा लघु घरेलु तथा साना उद्योग सञ्चालन भएकोमा २०६२-०६३ को आन्दोलन सकिँदासम्म अधिकांश उद्योगहरु बन्द भएर नौ सय ३१ वटा मात्रै उद्योगहरु सञ्चालनमा थिए । सो आन्दोलनपछि आर्थिक वर्ष २०६५-०६६ मा यि उद्योगको संख्या सुदूरपश्चिममा बढेर दुई हजार तीन सय ७२ पुग्यो । तर अर्को वर्ष विभिन्न कारणले घटेर सञ्चालनमा आएका उद्योगको संख्या सात सय ७९ मा झ¥यो । आर्थिक वर्ष २०६७-०६८ मा सुदूरपश्चिममा यि उद्योगहरुको संख्या पुनः बढेर एक हजार पाँच सय २२ पुग्यो । त्यसपछि सुदूरपश्चिम प्रदेशमा लघु, घरेलु तथा साना उद्योगको संख्या निरन्तर बढ्दै गई आर्थिक वर्ष २०७२-०७३ मा तीन हजार पाँच सय ८५ पुग्यो । आर्थिक वर्ष २०७३-०७४ मा यो संख्या पुनः घटेर तीन हजार १८ मा झ¥यो । तर यि उद्योगहरुको विकास क्रम रोकिएन । आर्थिक वर्ष २०७४-०७५ मा यि उद्योगको संख्या तीन हजार आठ सय १२ पुगेको उद्योग विभागलाई उद्धृत गर्दै लघु, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताए ।
महासंघको तथ्यांक अनुसार सुदूरपश्चिममा उत्पादनमुलक उद्योगहरु चार हजार पाँच सय, उर्जामुलक १०, कृषि तथा वनजन्य चार हजार तीन सय, पर्यटन एक हजार पाँच सय, सेवा मुलक सात हजार आठ सय, निर्माण आठ सय उद्योग दर्ता छन् । तर दर्ता भएका सबै उद्योगहरु सञ्चालन हुन सकेका छैनन् ।
सीमित पूँजीमा सञ्चालन भएका यि उद्योगहरुले बजार पाउन नसकेको सुदूरपश्चिम प्रदेशको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका विनोदकुमार मालीले बताए । उनले ठूला उद्योगको उत्पादनको अगाडि साना तथा घरेलु उद्योगका उत्पादनहरुले बजार पाउन कठिन भएको बताए ।
‘सामाजिक संस्कार र संस्कृतिकोे रुपमा उद्यमशिलताको विकास नहुँदा पनि घरेलु तथा साना उद्योगहरु फस्टाउन सकेका छैनन्,’ उनले भने, ‘तालिमलाई उद्यमसँग जोड्न नसक्नु र प्रतिस्पर्धि खुला कोष, व्यवसाय शुरु गर्न आधार पूँजीको अपर्याप्तताले गर्दा यि उद्योगहरुले बजार पिट्न सकेका छैनन् ।’
मालीले बैकिङ प्रणालीको सहज, सरल पहुँच नहुँदा र न्युन बचतका कारणले घरेलु तथा साना उद्योगमा लगानी हुन नसकिरहेको बताए । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लघु उद्यम विकास विशेषज्ञ भीमबहादुर विष्टले प्रदेशमा लघु, घरेलु तथा साना उद्योगको विकासका लागि प्रादेशिक औद्योगिक व्यवसाय नियमावलि र निर्देशिकाहरु तयार गर्न आवश्यक रहेको बताए । उनले प्रदेश सरकारले उद्योग ग्राम स्थापनामा स्थानीय तहलाई सहयोग गर्नुपर्ने, लघु साना तथा मझौला उद्योगको प्रवद्र्धनमा सहयोग गर्नुपर्ने, विशेष वस्तु उत्पादनको क्षेत्र स्थापना गर्नुपर्ने र स्थानीय तहलाई जोखिम संवेदनशील भू–उपयोग निर्माणमा सहयोग गर्ने लगायतका सुझाव दिए ।