दीननाथ बराल
मंगलबार, भदौ १७, २०७६
399

पोखरा-समाजमा शारीरिक रूपमा तन्दुरुस्त व्यक्ति उत्पादन गर्ने उद्देश्यले पोखरामा अन्तराष्ट्रिय मापदण्ड अनुसारको जिमहल र फुटसल संचालनमा आएको छ । नेपाली फुटबल टिमका पूर्व राष्ट्रिय खेलाडी इश्वर गुरुङ (चन्द्र) सहितको ७ जना युवा तथा खेलाडीहरूको लगानीमा स्पोटर्स क्यासल ( जहाँ जिमहल र फुटसल) हालै संचालनमा आएको हो ।
आफु पूर्वखेलाडी भएको हुनाले पोखरामा स्वास्थ्य नागरिक उत्पादन गर्ने उद्धेश्यले पोखराको बगालेटोलमा स्पोटर्स क्यासल संचालनमा ल्याएको संचालक चन्द्रले बताए । करिब साँढे ६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त स्पोटर्स क्यासलमा क्यान्टिन, पार्किङ, सौचालय एवं बाथरुम, लकरको राम्रो व्यबस्था गरिएको संचालक चन्द्रले बताए । करिब ६ करोड लगानी रहेको उक्त क्यासलले जाडो मौसम सुरु भएसंगै साउना र स्टीम बाथ सेवा संचालन गर्ने भएको छ ।

पुर्व खेलाडी चन्द्र सहित नेपाल पुलिसका पुर्व फुटवल खेलाडी (गोलरक्षक) बिशाल श्रेष्ठ, कास्की जिल्ला फुटवल संघका कोषाध्यक्ष विजया गुरुङ, फुटसलका राष्ट्रिय कोच तथा सहारा क्लवका प्रशिक्षक विजय गुरुङ, जनप्रिय बहुमुखी क्याम्पस बीबीए चौथो बर्षमा अध्ययनरत अनमोल पालिखे, युवा व्यवसायी दीलीप कार्की र पवन गुरुङको उक्त स्पोटर्स क्यासलमा लगानी रहेको छ । २० देखि ४२ बर्ष उमेर समुहका व्यक्तिहरूको सामुहिक प्रयासमा पोखरामा युवाहरूलाई लक्ष्ति हुने गरी उक्त जिमहल, फुटसल संचालनमा ल्याएका हुन्।
क्यासलले पोखरेलीको माग अनुसार केही बर्षमा सुइमिङ पुल समेत स्ंचालनमा ल्याउने योजना रहेको अर्को संचालक अनमोल पालिखेले जनाए । मिस्टर पोखरा नरजन गुरुङ(म्याक्स), युवराज गुरुङ र ओमिसा घिसिङले हाल जिमहलमा प्रशिक्षण समेत गराउने भएको पालिखेले जनाए । उक्त क्यासलमा हाल नेपाली राष्ट्रिय ह्याण्डवलको टोलीलाई प्रशिक्षण गराउन फुटसल मैदान उपलब्ध गराउदै आएको संचालक चन्द्रले बताए ।
यसैबीच, उक्त स्पोटर्स क्यासलको एक समारोहका बिच शनिबार गण्डकी प्रदेशका कार्यवहाक मुख्य मन्त्री किरण गुरुङले उद्घाटन गर्दै स्वस्थ्य नागरिक उत्पादनमा यस्ता जिमहल तथा फुटसल आवश्यक भएकोमा जोड दिए । प्रदेशको आर्थिक समृद्धिको लागि सरकारले निजी क्षेत्रसंग सहकार्य गर्न तयार रहेको उनले जनाए । खेलकुदलाई अब नयाँ ढंगबाट अघि बढाउनु पर्ने उनले खाँचो हौलाए । गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापाले समाजमा हुने विकृतिलाई निरुत्साहित पार्न यस्ता खेल गतिविधिमा लगानी गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले पोखराका साग अन्र्तगत ९ वटा खेल हुने जनाए । नेपाल ह्याण्डवल संघका केन्द्रिय अध्यक्ष तेज बहादुर गुरुङले दिगो विकासको लागि खेल गतिविधि आवश्यक भएको बताए ।
उक्त अवसरमा हालै इन्डोनेसियामा सम्पन्न भएको १८ औं एसियाली खेलकुदमा प्याराग्लाईडिङबाट रजत पदक विजेता नेपाली टोलीका प्रशिक्षक योगेश भट्टराईलाई सम्मान गरिएको छ । का.वा.मुख्य मन्त्री गुरुङ, संचालक चन्द्र गुरुङसहितको टोलीले उनलाई सम्मानपत्रको साथमा दोसल्ला ओढायर सम्मान गरेका हुन् ।