कारोबार संवाददाता
सोमवार, भदौ १६, २०७६
414

दोलखा उद्योग वाणिज्य संघको पहलमा गरेको एक दिने कर शिविरमा ३ लाख ९८ हजार राजस्व संकलन भएको छ । लामोसाँघु जिरी सडक बिग्रेका कारण व्यवसायीहरुलाई कर बुझाउन र कर चुक्ता प्रमाण पत्र लिन सास्ती भएपछि संघको पहलमा चरिकोटमै एक दिने शिविर आयोजना गरेको हो ।
आन्तरिक राजश्व कार्यालय धुलिखेलको संयोजनमा दोलखा उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुलाई लक्षित गरि शिबिरको आयोजना गरेको हो । शनिबार दोलखा सदरमुकाम चरिकोटस्थित उद्योग वाणिज्य संघको सचिबालयमा साँझसम्म आयोजित शिबिरमा व्यवसायीहरुको कर चुक्ता गर्ने र कर चुक्ता प्रमाण पत्र वितरणको काम भएको संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

आन्तरिक राजश्व कार्यालय धुलिखेलका कर अधिकृत रामकुकार श्रेष्ठले बिदाको दिन आयोजना गरिएको कार्यक्रम भएपनि करदाताहरुको उल्लेख्य सहभागिता रहेको छ । अधिकृत श्रेष्ठले छोटो समयमा पनि लगभग ४ सय भन्दा धेरैको संख्यामा करदाताहरु शिबिरमा उपस्थित भई सेवा लिएको जानकारी दिए । शनिबार चरिकोटस्थित नेपाल बैंक लिमिटेडले उद्योग वाणिज्य संघको अनुरोधमा दिनभर सेवा दिएका संघका प्रथम उपाध्यक्ष दिनेश थापाले बताए ।
दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले कर कार्यालय टाढा भएको र जिल्लाका उद्योगी व्यवसायीहरु लामोसाँघु चरिकोट सडकको त्रासदीपुर्ण यात्रा गरेर कर तिर्न जान नसकेकाले जिल्लामानै शिबिरको आयोजना गरिएको बताए । अध्यक्ष श्रेष्ठले छोटो समय र आन्तरिक राजश्व कार्यालयको व्यस्तताका कारण एकदिनमात्रै सेवा प्रवाहा गर्र्न सकिएकाले सबै व्यवसायीहरुको कर संकलन हुन नसकेको भन्दै आगामी वर्षबाट यस्ता शिबिरलाई थप व्यवस्थित र केही दिनसम्म चल्ने गरि सञ्चालन गरिने जनाएका छन् । एक दिने शिविरमा काम नसकिएका व्यवसायीहरुको फर्म संकलन गरी संघ कर्मचारी नै धुलीखेल पठाएर काम गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
दोलखा उद्योग वाणिज्य संघले दोलखा जिल्ला लाई मुख्य कार्यक्षेत्र बनाएर करदाता सेवा कार्यालय स्थापना गर्न आन्तरिक राजश्व कार्यालयसँग माग गरेका छन् । संघका महासचिब हेमराज रिमालले सामान्य राजश्व तिर्न पनि काभ्रेपलाञ्चोक पुग्नुपर्ने भन्दै राजश्व भन्दा आवत जावतको खर्च नै धेरै हुने भएकाले दोलखामा करदाता सेवा केन्द्र अति आबश्यक रहेको बताएका छन् ।
आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुले भने सेवा केन्द्र स्थापना गर्न कार्यालय सकरात्मक रहेको बताउदै अरु सबै प्रकृया पुरा भएर मन्त्रालयको निर्णयमात्रै हुन बाँकी रहेको बताएका छन् । दोलखाका उद्योगी व्यवसायीहरुले राज्यलाई तिनुपर्ने कर तिर्न आफुहरु असाध्यै सकरात्मक भएपनि विभिन्न निकायमा एउटै शिर्षकमा समेत फरक फरक निकायमा कर तिर्नुपरेको भन्दै एकद्धार प्रणाली र सकेसम्म एउटै निकायमा कर तिर्ने व्यवस्था मिलाउन सरकारसमक्ष माग गरेका छन् ।