कारोबार संवाददाता
सोमवार, भदौ १६, २०७६
274

सार्क चेम्बर महिला उद्यमी परिषद ,नेपाल (एस्सिडब्लुइसी ) सँग आवद्ध महिला टोलीले नेपाली उत्पादनहरुको प्रवद्र्धन गर्ने उदेश्यसहित बर्माको याङ्गुनमा प्रवद्र्धनात्मक प्रदर्शनी गरिरहेको जनाएको छ ।
वर्मास्थित नेपाली राजदुतावासको निमन्त्रणामा एस्सिडब्लुइसि नेपालकी उपाध्यक्ष सरोजनी शेरचनको नेतृत्वमा १६ जना महिला उद्यमी सम्मिलित सो टोलीले वर्माको याङ्गुनमा प्रवद्र्धनात्मक प्रदर्शनीको आयोजना गरेको हो । सो टोलीले वर्माको याङ्गुनको पाइनओ ओलीन शहरमा रहेको नेपाली दुतावासको प्राङ्गणमा भदौ १४ देखि १६ गतेसम्म नेपालका विभिन्न उत्पादनहरुको प्रवद्र्धनात्मक प्रदर्शनीको आयोजना गरिरहेको हो ।

प्रदर्शनीमा नेपाली हस्तकलाका सामाग्री, महिलाहरुले प्रयोग गर्ने पोते, क्लिप, चुरा, कुशन कभर, दौरा सुरुवाल, साडी र चोलो, मखमली चप्पल, विभिन्न प्रकारका हातले निर्माण गरेको झोलाहरु, गाग्री, खड्कुलो जस्ता सामाग्रीहरुको प्रदर्शनीमा राखिएको छ । त्यसैगरी सो टोलीले बर्माका विभिन्न शहरमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरी नेपालमा पर्यटक भित्र्याउने उद्देश्य पनि लिएको जनाएको छ ।
सार्क चेम्बर महिला उद्यमी परिषद (एस्सिडब्लुइसी ) नेपाल सार्क चेम्बर अफ् कमर्श एण्ड् इण्डष्ट्रिज मातहतको एक अंग हो । जसको मुख्य उद्देश्य सार्क मुलुकका महिला उद्यमीलाई प्रोत्साहन तथा प्रर्वद्धन गर्ने रहेको छ ।


सातामा धेरै पढिएको