सुब्बा कार्की
आइतवार, भदौ १५, २०७६
252

रौतहट- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले बन्द रहेका प्रतिष्ठित उद्योग सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएका छन् । मन्त्री यादवले लामो समयदेखि बन्द रहेका तथा रुग्ण उद्योग, कलकारखाना सञ्चालनका लागि अर्थ मन्त्रालयसँग सहकार्य गरेर अगाडि बढेको बताए । उनले उद्योग, कलकारखाना प्रविधियुक्त भएको अवस्थामा पूरानै प्रकृतिका उद्योगलाई नयाँ प्रविधिसँग जोडेर समय सुहाउँदो बनाउनुपर्नेमा सरकारले जोड दिएको बताए ।
मन्त्री यादवले नेपालकै नाम चलेको जनकपुर चुरोट कारखाना पनि सञ्चालन गर्ने तयारीमा सरकार जुटेको दावी गरे । विकास तथा आर्थिक समृद्धिको यात्रामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग सहयकार्यको आवश्यक्ता रहेको बताउँदै मन्त्री यादवले समृद्ध नेपालको परिकल्पनामा सबै दल एकजुट भएमात्र समृद्धि सम्भव भएको बताए ।

उद्योग तथा व्यवसाय क्षेत्रमा रहेका समस्याका बारेमा सहकार्य, बहस र छलफलको माध्यमबाट सामधान गर्नुपर्ने मन्त्री यादवको धारणा छ । पूराना ऐन, कानून उद्योगका लागि बाधक भए सच्चाउन वा परिमार्जन गर्न सकिने बताउँदै उनले भने ‘इटा उद्योगले पनि पूराना प्रविधि छोडेर नयाँ प्रविधिमा जान चाहे सरकारले सहयोग गर्नेछ ।’
संघीय संसाद देवप्रसाद तिमल्सिनाले उद्योग तथा व्यवसायीसँग कर लिने सरकारले व्यवसाय प्रवद्र्धनामा जोड दिनु पर्ने बताए । उनले सरकारले उद्योगीहरुको मर्मलाई बुझेर कर, आपूर्ति गरिने सामानमा समेत सहज बनाउनुपर्ने बताए । कार्यक्रममा देशभरबाट इटा व्यवसायीका प्रतिनिधिहरू सहभागी थिए ।