कारोबार संवाददाता
बिहिवार, भदौ १२, २०७६
259

गत आइतबार नमोबुद्ध नगरपालिकाले भकुण्डेवेशीमा सञ्चालित आठ वटा इटा उद्योगमा डोजर लगाएर भत्काएको भन्दै व्यवसायीहरूले आपत्ति जनाएका छन् । नेपाल इटा उद्योग महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरेर उद्योग बन्द भएको बेलामा डोजर लगाए भत्काइएको भन्दै संघीय सरकारको ध्यानाकर्षण गराएको हो ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष महेन्द्र चित्रकारले डोजर लगाएर चिम्नी, पाकेका इटा, कामदारको बासस्थान र कार्यालय भवनलगायत भत्काउँदा १० करोड रुपैयाँ भन्दा बढीको क्षति भएको जानकारी दिए ।

महासंघका अनुसार इटा उद्योगबाट हुने प्रदुषणलाई घटाउने सन्दर्भमा बिगतमा नगरपालिक र इटा उद्योगीबीच भएको छलफललाई समेत आधार मानेर ती उद्योगहरुमा प्रविधि प्रयोग गरेर सरकारले तोकेको ३५० पीपीएमको मापदण्ड भन्दा अत्यन्त कम मात्रै प्रदुषण गरिरहेको उनले बताए । सबै मापदण्डलाई बेवास्ता गर्दै संविधानले प्रत्याभूत गरेको सम्पत्ति राख्न र व्यवसाय गर्न पाउने मौलिक हकको हनन् गर्दै नगरपालिकाले गुण्डागर्दी शैलीमा उद्योगमाथि आक्रमण गराउनु निन्दनीय भएको महासंघको ठहर छ ।
पत्रकार सम्मेलनमा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले महासंघको आग्रहमा वर्तमान सरकारले हरेक पालिकामा साना उद्योगग्राम स्थापना गर्ने यसअघि गरेको निर्णय कार्यान्वनयन गर्नुको सट्टा भएको उद्योगहरु बन्द गराएको अरेप लगाए ।
‘उद्योगले मापदण्ड पूरा गर्न सकेका थिएनन् भनेपनि त्यसलाई सुधार्न मौका दिनुपर्नेमा सरकारले उद्योगलाई बन्द गराउनु आफैमा गैर कानुनी कदम हो, उनले भने । त्यसैगरी अहिले विभिन्न पालिकामा विकल्पको व्यवस्था नगरी उद्योग नविकरण गर्न विभिन्न झन्झट लगाइरहनु र विभिन्न बहानामा व्यवसायीलाई हतोत्साही गराउने काम भएको व्यवसायीहरुको आरोप छ ।
इटा उद्योगी व्यवसायी संघ काभ्रेका अध्यक्ष जितेन्द्र खायामलीले उद्योगले सिर्जना गरेका आर्थिक अवसरका कारण विकास भएको भकुण्डेवेसीको बजारमा मेयरकै निर्देशनमा इटा उद्योगमा आक्रमण गराउनु गलत भएको टिप्पणी गरे । इटा उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष शंकर चन्दले सो नगरपालिकाका मेयरले इटा उद्योगमा आफ्नो पनि शेयर माग दावा गरेको र उद्योगीले दिन नसक्दा इटा उद्योग नै तहसनहस गर्ने काम गरेको आरोप लगाए ।