कारोबार संवाददाता
बुधवार, भदौ ११, २०७६
281

नेपालमा व्यावसायिक सामाजिक उत्तरदायित्व एवं असल व्यावसायिक अभ्यासको प्रवद्र्धन गर्न तथा दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका अभिवृद्धि गर्नका लागि २०७६ भदौ १९ र २० गते तेस्रो जिम्मेवार सम्मेलनको आयोजना हुने भएको छ । राष्ट्रिय व्यावसायिक पहलले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा यस सम्मेलनको आयोजना गर्दैछ । नेपाली व्यावसायिक जगत्मा व्यावसायिक सामाजिक उत्तरदायित्व एक आधुनिक अवधारणा हो जसलाई प्रचारप्रसार गर्न राष्ट्रिय व्यावसायिक पहलले विगत एक दशकदेखि विभिन्न प्रयास गर्दै आइरहेको छ ।
आयोजक संस्था राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष पद्मज्योतिले सम्मेलनको घोषणा गर्दै भने, “दुईदिने यस सम्मेलनमा १६ विभिन्न सत्रमा ठूलादेखि साना उद्योगी–व्यवसायी, बैंक तथा वित्तीय संस्था, सम्बन्धित सरकारी निकाय, विकास साझेदार संस्थाहरूलगायत अन्य सरोकारवालाहरूले नेपालमा जिम्मेवार व्यवसायको क्षेत्र, प्रकृति, लाभ तथा चुनौतीहरूको विषयमा बृहत् छलफल गर्नेछन् । यस सम्मेलनले दिगो विकास लक्ष्य अनुकूल हुने गरी व्यावसायिक–सामाजिक उत्तरदायित्व वहन गर्न नेपाली उद्योगी व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यावसायिक–सामाजिक उत्तरदायित्व सम्बन्धी कानुनहरूको कार्यान्वयन गर्न पनि सहयोग पुग्ने हामीेले विश्वास लिएका छौं ।”

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलबाट सम्मेलनको उद्घाटन हुने तय भएको छ ।
सम्मेलनमा समेटिएका ट्र्याक र तिनका उद्देश्यहरू समृद्धि— द्रुत तथा दिगो समृद्धिका लागि जिम्मेवार व्यवसाय, जनता— मानवीय सरोकारवालाहरू (कर्मचारी, उपभोक्ता, स्थानीय समुदाय) का आवश्यकताहरू सम्बोधन गर्ने जिम्मेवार व्यवसाय, वातावरण¬— प्राकृतिक एवं मानव निर्मित पर्यावरणको दिगोपनाका लागि जिम्मेवार व्यवसाय तथा साझेदारी— दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रसँगको आवश्यक प्रभावकारी साझेदारी रहेको आयोजकले बताए ।
प्रत्येक सत्रमा एक प्रखर अन्तर्राष्ट्रिय वक्ता र नेपाली कम्पनीको अनुभवसहित दुई नेपाली वक्ताहरू रहनेछन् । साथै प्रत्येक सत्रलाई नेपालका प्रतिष्ष्ठित उद्योगी–व्यवसायी वा सत्रसँग सम्बन्धित प्रख्यात व्यक्तिहरूले अध्यक्षता गरी सञ्चालन गर्नेछन् ।
सम्मेलनमा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), अन्तर्राष्ट्रिय बालकोष (युनिसेफ), संयुक्त राष्ट्र संघ विकास कोष
(यूएनडीपी), रोजगारीका लागि सीप विकास कार्यक्रम (सीप), हाम्रो सम्मान परियोजनालगायतका अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरुबाट अन्तर्राष्ट्रिय वक्ताहरू हुनेछन् ।
राष्ट्रिय वक्ताहरूमा विभिन्न नवीनतम साना तथा मझौला उद्योग व्यवसायसहित औद्योगिक व्यावसायिक समूहहरूमा ज्योति समूह, पञ्चकन्या समूह, नेपाल उद्योग वाणिज्य महासंघ, यति एयरलाइन्स, काठमाडौं गेस्ट हाउस आदि छन् । त्यसैगरी सरकारी निकायतर्फबाट राष्ट्रिय योजना आयोग, उद्योग मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, नेपाल राष्ट्र बैंक, निर्वाचन आयोग, सामाजिक सुरक्षा कोष आदि रहेका छन् भने नागरिक समाजतर्फ उपभोक्ता संघ, श्रम संगठन, वातावरण अधिकारकर्मी, युवा अधिकारकर्मी, सुशासन अधिकारकर्मी लगायत रहेका छन् ।
सम्मेलनको मुख्य प्रायोजकहरूमा नेपाल इन्भेस्टमेन्ट बैंक लि., ज्योति समूह– होन्डा, सिप्रदी टाटा, नेपाल इकरात इन्जिनियरिङ प्रालि, सेलपे, शिखर इन्स्योरेन्स, नर्भिक इन्टरनेसनल हस्पिटल, यति एयरलाइन्स र याक एन्ड यति होटल रहेका छन् त्यसैगरी विभिन्न सत्रको प्रायोजकमा एसबीआई बैंक, मनकामना दर्शन प्रालि, बैंक अफ काठमाडौं, सूर्य नेपाल प्रालि रहेका छन् भने सत्रका सह–प्रायोजकहरूमा शर्मा एन्ड कम्पनी, क्वेस्ट फर्मास्युटिकल, केएनपी पेन्ट, एभरेस्ट बैंक, एभरेस्ट ग्यास, कुमारी बैंक, प्राइम बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक तथा मोरङ अटो वक्र्स छन् ।