कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६
365

विराटनगर-औद्योगिक क्षेत्रमा सुरक्षा उपस्थिति बढाउन उद्योगीहरूले प्रहरी प्रशासनलाई आग्रह गरेका छन् । उद्योगी व्यवसायीसँगै सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति हुनेगरी उपस्थिति बढाउन उनीहरूले आग्रह गरेका हुन् । उद्योग संगठन मोरङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रदेश–१ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरीका डीआईजी नगेन्द्रबहादुर थापा, प्रदेश–१ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भीमबहादुर दाहाल, मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीलगायतसँग छलफल गर्दै शान्ति सुरक्षालाई बलियो बनाउन माग गरे । उनीहरूले ट्राफिक प्रहरीले अनावश्यक दुःख दिने गरेको समेत गुनासो पोखे ।
अध्यक्ष घिमिरेले उद्योगी-व्यवसायीलगायत आमसर्वसाधारणले शान्ति सुरक्षाको अनुभूति गरी आफ्नो उद्योग-व्यवसाय निर्धक्कका साथ सञ्चालन गर्ने वातावरण प्रत्याभूत हुने विश्वास व्यक्त गरे । उनले गैरकानुनी क्रियाकलापले आर्थिक वातावरण धुमिल हुने भएकाले अवाञ्छित गतिविधिलाई पूर्ण रूपमा अंकुश लगाउन आग्रह गरे । अध्यक्ष घिमिरेले केही समययता शान्ति सुरक्षा खस्किएको भन्दै प्रहरी सक्रियता बढाउन माग गरे ।

उनले लगानीमैत्री वातावरण निर्माण गर्न र लगानी गर्न इच्छुक व्यक्तिले त्यस क्षेत्रको शान्ति सुरक्षाको अवस्थालाई दृष्टिगत गर्ने हुँदा सर्वप्रथम शान्ति सुरक्षालाई सवल र सुदृढ बनाउनुपर्नेमा जोड दिए । “कुनै पनि उद्योगीले लगानी गर्नुभन्दा अगाडि त्यस क्षेत्रको शान्ति सुरक्षा कस्तो छ भनेर अध्ययन गर्छ,” उनले भने, “लगानीको पहिलो आधार शान्ति सुरक्षा नै हो ।”
संगठनका पूर्वअध्यक्ष सुशील धनावतले शान्ति सुरक्षा पूर्ण प्रत्याभूत जहाँ हुन्छ त्यहाँ नै आर्थिक विकासले गति लिने दाबी गरे । धनावतले भने, “जहाँ शान्ति सुरक्षा हुन्छ । त्यहाँ स्वभाविक रूपमा नयाँ लगानी आउँछन् ।” उपाध्यक्ष प्रदीप मुरारकाले विभिन्न बहानामा राष्ट्रिय तथा सहायक राजमार्गमा गैरकानुनी कर संकलन गर्ने कार्य भइरहेको बताउँदै त्यस्ता क्रियाकलापलाई अविलम्व बन्द गराउन प्रहरी सक्रिय हुनुपर्ने विचार व्यक्त गरे ।
अर्का उपाध्यक्ष राजकुमार गोल्छाले पछिल्लो समय उद्योगी व्यवसायीले सुरक्षित महसुस गरेको बताए । उनले औद्योगिक क्षेत्रमा सुरक्षा उपस्थिति बढाएर निर्धक्कका साथ उद्योग व्यवसाय गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उपाध्यक्ष राकेश सुरानाले शान्ति सुरक्षा कामय गराउन प्रहरी प्रशासनलाई निजी क्षेत्रले सहयोग गर्ने बताए । पूर्वअध्यक्ष नन्दकिशोर राठी, सुशील धनावत, कोषाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, विपिन काबरा, संजय अग्रवाललगायतले सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन आग्रह गरे ।
प्रदेश प्रहरी प्रमुख ज्ञावलीले आर्थिक विकासको अभिन्न अंगका रूपमा रहेका उद्योगी-व्यवसायीले शान्ति सुरक्षाको सम्बन्धमा उठाएको विषयमा आफू गम्भीर रहेको बताए । उनले कुनै पनि अवाञ्छित क्रियापलापले उद्योगी-व्यवसायी पीडित हुनु नपर्ने स्पष्ट पार्दै गैरकानुनी क्रियाकलाप रोक्न उद्योगी-व्यवसायीलगायत सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे ।
सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) थापाले शान्ति सुरक्षाका साथै सीमाको निगरानीमा आफूहरू कटिवद्ध रहेकाले कुनै समस्या आएमा समाधानका लागि सशस्त्र प्रहरी सदैव तयार रहेको बताए । कार्यक्रममा अस्तव्यस्त ट्राफिक अवस्था, अनियन्त्रित पार्किङ, दैनिक हुने लुटपाट र चोरीका घटनालाई नियन्त्रण गर्न सोहीअनुरूप योजना बनाई आगामी दिनमा अघि बढ्ने मोरङका प्रहरी उपरीक्षक एसपी अधिकारी र प्रदेश ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक दाहालले बताए । कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक पुरुषोत्तम कडेल, सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेल, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, सशस्त्र प्रहरी मोरङका प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीलगायतले पनि शान्ति सुरक्षाका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।