कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६
274

विराटनगर- नेपालकै प्रतिष्ठित औद्योगिक घराना सारडा ग्रुपले स्थापना दिवस (फाउन्डेसन डे)को अवसर पारेर उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरेको छ ।
सारडा ग्रुपमा रहेर लामो समयदेखि कार्य गर्दै आएका २० जना कर्मचारीलाई नगदसहित सम्मान गरिएको ग्रुपका सञ्चालक पवनकुमार सारडाले बताए । उनीहरुलाई कामको मूल्यांकनका आधारमा सम्मान गरिएको उनले जानकारी दिए । स्थापना दिवसकै अवसरमा रक्तदानसमेत आयोजना गरिएको थियो । सारडा गु्रपको काठमाडौं र विराटनगरस्थित कार्यालयहरूका सञ्चालक एवं कर्मचारीहरूको सहयोगमा ‘सेभ द लाइफ’ भन्ने नारासहित सञ्चालन गरिएको कार्यक्रममा १ सय ३० पिन्ट रगत संकलन भएको थियो ।

पूर्वसभासद् एवं मोरङ व्यापार संघका निवर्तमान अध्यक्षसमेत रहेका सारडाले सारडा ग्रुपले स्थापनाकालदेखि नै आफ्नो व्यापार व्यवसायका अलावा सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको र आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिने बताए ।
१ सय ४० वर्ष अगाडि सिरहाको लहानमा गल्लाकिराना, खाद्यान्न तथा सुनचाँदीको कारोबार गर्दै आएको सारडा गु्रपले वि.सं. २०१५ मा लहानमा पहिलो उद्योग पशुपति राइस मिल स्थापना गरेको थियो । त्यसपछि चिनी उद्योगलगायत जनकपुर र राजविराज क्षेत्रभित्र १५ वटा राइस मिलको स्थापना गरेको र वि.सं. २०३८ सालतिर विराटनगरमा एभरेष्ट आइरन इन्डस्ट्रिजको स्थापना गरी उद्योग व्यापारलाई अगाडि बढाउँदै आइरन, वायर, चाउचाउ, विस्कुट, रवर, सिमेन्ट तथा हाइड्रोपावरमा लगानी गरेको ग्रुपका सञ्चालक सारडाले जानकारी दिए ।