लक्ष्मण ढुंगाना
आइतवार, भदौ ८, २०७६
272

बाँके-मानव अधिकारका विषयमा उद्योगी, व्यवसायी जानकार नहुँदा नेपालले अन्तर्राष्ट्रिय क्षेत्रको बजार हिस्सा गुमाउनु परेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बताएका छन । नेपाल उद्योग वाणिज्य महासंघले कानुन, न्याय तथा संसदीय मन्त्रालयको सहकार्यमा देशभरका उद्योगी, व्यवसायीलाई उपभोेक्ता र कामदारको मानव अधिकार सुनिश्चित गर्न आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष प्रधानले सो कुरा बताएका हुन् ।
उपाध्यक्ष प्रधानले स्थानीय र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्नका लागि मानव अधिकारको हेक्का राख्नुपर्ने बताउँदै मानव अधिकारका विषयमा थाहा नहुँदा कयौं उद्योग प्रतिष्ठानले बजार हिस्सा गुमाउनुपरेको बताए ।नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनीति तिवारीले मानव अधिकारको सुनिश्चिता बिना उद्योग, व्यवसाय चल्न नसक्ने बताए । उनले भने, “स्वयं उद्योगी, व्यवसायीको पनि मानव अधिकार सुनिश्चित हुनुपर्छ र हामीले पनि अरूको मानव अधिकारको सुनिश्चित गर्न सिक्नुपर्छ ।”

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले अब मानव अधिकारको बहस र छलफल निजी क्षेत्रमा पनि प्रवेश गरेको बताए ।बहुराष्ट्रिय उद्योग प्रतिष्ठानलाई लक्षित गरी संयुक्त राष्ट्र संघले ल्याएका मानव अधिकारसम्बन्धी नीतिका विषयमा नेपालका उद्योगी, व्यवसायीलाई पनि सम्भवत पहिलो पटक यसरी प्रशिक्षण दिन लागिएको हो । सातवटै प्रदेशमा हुने यस्तो प्रशिक्षण पहिलोपटक शनिबार नेपालगन्जमा आयोजना गरियो । प्रशिक्षणमा प्रदेश ५ का उद्योगी, व्यवसायी सहभागी छन् । कार्यक्रममा कानुन मन्त्रालयका सहसचिव फणिन्द्र गौतमले मानव अधिकारको सुनिश्चिता सरकार एक्लैले गर्न नसक्ने बताए ।
उनले भने, “त्यसैका लागि समाजका बिभिन्न तह र तप्कासँग सहकार्य गरेर मानव अधिकारको ग्यारेण्टी गर्न खोजका हौं । जसमा कर्पाेरेट क्षेत्र पनि पर्छ ।” उपभोक्ता र कामदारहरूको मानव अधिकारको सुनिश्चिता उद्योग प्रतिष्ठानको जिम्मेवारीभित्र पर्ने सहसचिव गौतमको भनाइ छ ।प्रशिक्षमा बाँकेका प्रतिनिधिसभा सांसद महेश्वर गहतराज अथक, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, प्रमुख जिल्ला अधिकारी मदन भुजेल लगायतको सहभागिता थियो ।


सातामा धेरै पढिएको