कारोबार संवाददाता
आइतवार, भदौ ८, २०७६
219

परिसंघ र इकोनोमिक काउन्सिलरबीच भेटघाट

नेपाल उद्योग परिसंघले हालै नेपाल सरकारबाट भारतको नयाँदिल्लीस्थित राजदूतावासमा इकोनोमिक काउन्सिलरको रूपमा नियुक्त नीता पोखरेल (अर्याल)लाई बधाई तथा द्विपक्षीय व्यापार सहजीकरणका विषयमा शुक्रबार अन्तक्र्रिया गर्यो । इकोनोमिक काउन्सिलर नीता पोखरेललाई परिसंघको कार्यालयमा निमन्त्रणा गरेर छिमेकी मित्रराष्ट्र भारतसँगको आर्थिक तथा व्यापारिक सम्बन्ध र बढ्दो द्विपक्षीय व्यापारका विषयमा छलफल गरेको हो ।
छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले इकोनोमिक काउन्सिलरका रूपमा पोखरेललाई बधाई दिँदै उनको कार्यकालमा भारतसँगको व्यापारमा आउने समस्याको समाधानमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

अध्यक्ष मोरले भारतसँगको आर्थिक क्षेत्रमा रहेको ठूलो सम्भावनालाई निर्यात व्यापारमा परिणत गर्न आवश्यक रहेकातर्फ ध्यानाकर्षण गराए । हालै भारतले खाद्य तथा फलफूल र तरकारीमा नेपालको गुणस्तर निकायको प्रमाणपत्रलाई मान्यता दिने निर्णय गरेको र यस्ता निर्णयले गैरकर अवरोध कम भई भारततर्फको निर्यातमा सहयोग पुग्ने उल्लेख गरे । यसै गरी भारतीय पक्षले सहमति जनाइसकेको बल्क कार्गो सेवा रक्सोल बाहेक अन्य प्रमुख नाकाहरूमा पनि विस्तार गर्ने विषयलाई छिटो कार्यान्वयनमा लैजाने विषयमा पहल गर्न पनि इकोनोमिक काउन्सिलर पोखरेललाई आग्रह गर्नु गरे । वीरगन्ज बाहेक विराटनगर र भैरहवामा पनि बल्क कार्गो रेल सेवा दिन नेपाल भारतबीच यसअघि नै समझदारी बने पनि अझै कार्यान्वयन हुन सकेको छैन ।
भदौ २५ र २६ गते काठमाडौंमा आयोजना हुनलागेको नेपाल पूर्वाधार सम्मेलनबारे जानकारी गराउँदै नेपालको पूर्वाधार क्षेत्रमा भारतीय लगानी कर्ता भिœयाउन पनि दिल्लीस्थित नेपाली दूतावासले सक्रिय भूमिका निभाउन सक्ने पनि अध्यक्ष मोरले उल्लेख गरे । सो अवसरमा इकोनोमिक काउन्सिलर नीता पोखरेलले व्यापार सहजीकरणका लागि हरदम प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । भारतका केही राज्य सरकारहरूले नेपालको पर्यटकीय क्षेत्र तथा मन्दिर दर्शनमा सहुलियत प्रदान गरेकाले यसलाई थप व्यवस्थित गरी पर्यटन प्रर्वद्धनमा समेत सकृय भूमिका खेल्ने प्रतिबद्धता पनि काउन्सिलर पोखरेलले व्यक्त गरे ।