कारोबार संवाददाता
आइतवार, भदौ ८, २०७६
172

नेपाली महिलाहरूको महान चाड तीजको अवसरमा नेपाल चेम्बर अफ कमर्स, नेपाल महिला चेम्बरद्वारा आयोजित ‘दोस्रों तीज व्यापार मेला–२०७६’ सम्पन्न भएको छ । राजधानीको जमलस्थित नेपाल चेम्बर अफ कमर्समा शुक्रबारदेखि आयोजित २ दिने मेलाको प्रदेश ३ सांसद एवं पूर्वउद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले उद्घाटन गर्दै महिलालाई सक्षम, उद्यमी र व्यवसायी बनाउनका लागि महिला चेम्बरले सहयोग गर्नुपर्ने बताएकी थिइन् ।
उनले महिलाहरूले पनि आफू उद्यममा लाग्न आफैं क्रियाशील हुनुपर्ने पनि बताइन् । उद्घाटन कार्यक्रममा चेम्बरका कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले महिला चेम्बरले गरेको कार्यले महिला तथा उद्योमीका लागि थप भूमिका खेलेकोमा जोड दिँदै उनले यस्तो मेलाले महिलामा थप ऊर्जा मिल्ने अपेक्षा गरेका थिए ।
कार्यक्रममा महिला चेम्बर अफ कमर्सका अध्यक्ष उर्मीला श्रेष्ठले महिला सशक्तीकरणका लागि यो दोस्रो मेलाको आयोजना गरिएको जानकारी दिइन् । मेलामा यो वर्ष काठमाडौंका महिलाद्वारा प्रबद्र्धित ५० फर्म-कम्पनी, संघ–संस्थाहरूको स्टलद्वारा सहभागिता छ । यो मेलाले हस्तकला सामग्री, स्थानीय उत्पादनमा आधारित प्रौगारिक मलद्वारा तयार हुने जैविक खाद्य वस्तु (अर्गानिक) व्यवसायीकरण गर्ने मात्र नभई महिला उद्यमीहरूलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुँदै नेपाल पर्यटन वर्ष–२०२० सफल पार्ने वातावरण रहेको चेम्बरले जनाएको छ ।