कारोबार संवाददाता
शुक्रवार, भदौ ६, २०७६
344

प्लास्टिक तथा प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधान तथा असल अभ्यासलाई अवलम्बन गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्न सहमत भएका छन् । नेपाल उद्योग परिसंघको वातावरण समिति तथा प्लास्ट नेपाल फाउन्डेसनको सहकार्यमा भदौ ४ गते काठमाडौंमा आयोजित प्लास्टिक तथा प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधान तथा असल अभ्याससम्बन्धी अन्तक्र्रियामा सरकार र निजी क्षेत्रले वातावरण सरंक्षणमा नयाँ कार्ययोजना तय गरेर सहकार्य गर्न सहमति जनाएका हुन् ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले औद्योगिक उत्पादनले वातावरणमा पार्ने प्रभावको मूल्यांकन र त्यसका नकारात्मक असर कम गर्न तीनै तहका सरकार तथा सरकारी निकायहरू र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने समय आएको बताए । वन तथा वातावरण मन्त्रालयले यसमा पहल लिन सुझाव दिँदै उद्योगमन्त्री यादवले त्यस्तो पहललाई लिएर अघि बढ्न उद्योग मन्त्रालय तयार रहेको बताए । प्लास्टिकको उपयोग कम गर्न, गुणस्तरीय प्लास्टिकको उपयोग बढाउन र प्लास्टिकजन्य फोहोरको पुनःप्रयोग गर्ने उद्योग स्थापनामा सघाउन मन्त्रालय तयार रहेको पनि मन्त्री यादवले उल्लेख गरे ।

सो अवसरमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले दिगो विकासलाई केन्द्रमा राखेर प्लास्टिकको प्रयोग कम गर्ने तथा पुनः प्रयोगका लागि प्रोत्साहन गर्ने नीति लिएको बताए । काठमाडांै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले प्लास्टिक तथा प्लास्टिकजन्य फोहोरको पुनःप्रयोग तथा व्यवस्थापनाका लागि निजीसँग सहकार्य गर्न महानगर तयार रहेको बताए ।
त्यसका लागि महानगरले परिसंघको वातावरण समितिसँग नियमित सहकार्यका लागि पनि न्यौपानेले आग्रह गरे । सोही अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघ र यसमा आबद्ध उद्योगी–व्यवसायीहरूले वातावरण संरक्षणलाई प्राथमिकतामा राखेको बताए । अध्यक्ष मोरले भने, “हाम्रै लगानीमा रहेको होग्सी शिवम् सिमेन्ट उद्योगले फोहोर प्रशोधनबाट १२ मेगावाट ऊर्जा निकालेर उपयोग गरेको भन्दै वातावरणमा ध्यान दिँदा उत्पादन मूल्यमा समेत बचत भएको छ । प्लास्टिकको हकमा पनि प्लास्टिक पुनःप्रशोधित गर्ने उद्योगले आयातलाई कम गरेर अर्बौं रुपैयाँ विदेश जान रोकी विदेशी मुद्रा सञ्चितिमा सहयोग पु¥याउन सक्छन् । त्यसैले पुनःप्रशोधित प्लास्टिक उद्योगहरूको सञ्चालनमा सहयोग पु¥याउन सरकार र सम्बन्धित निकायले सहयोग गर्न जरुरी छ ।
कार्यक्रमका स्रोत व्यक्तिको रूपमा बोल्दै एसियाली दिगो विकास अभियानका प्रमुख नोरम्यान चुवाले प्लास्टिक तथा प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा सिंगापुर, चीन र अन्य एसियाली मुलुकले अपनाएका असल अभ्यासबारे विस्तृत जानकारी गराए । त्यस्ता असल अभ्यासलाई नेपालले समेत सिकेर प्लास्टिकको प्रयोगबाट उत्पन्न हुने वातावरणीय ह्रास कम गर्न सक्ने बताए । प्लास्टिक तथा प्लास्टिकजन्य फोहोर व्यवस्थापन तथा यसको पुनःप्रशोधनका लागि नयाँ लगानीको अवसर रहेकाले सरकार र निजी क्षेत्रले साझेदारी गर्न पनि प्रमुख चुवाले सुझाव दिए ।