कृञ्जला पुलामी
बुधवार, भदौ ४, २०७६
341

सिन्धुलीको मुख्य बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको छ । जिल्ला सदरमुकामस्थित माढी बजार अब सिसि क्यामेराको निगरानीमा हुुने भएको हो ।
शान्ति सुुरक्षालाई थप सुुदृढ बनाउँदै सडक दुर्घटना तथा अपराधलाई न्यूनीकरण गर्न कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बजार क्षेत्रमा सीसी क्यामेराको जडान गरेको हो ।

सिन्धुलीमाढी बजार क्षेत्रमा पाँच वर्ष पहिले नै सीसी क्यामेरा जडान गरिएको भए पनि त्यसको उचित मर्मत सम्भार नहुँदा दुई वर्षदेखि प्रयोगविहीन बनेको थियो । लाखौ रुपैयाँको लगानीमा सिन्धुलीमाढी बजार र आसपासका क्षेत्रमा जडान गरिएका क्यामेरा सम्बन्धित निकायले चासो नदिँदा नाम मात्रैको सीसीटिभी बन्न पुगेको थियो ।
जिल्लामा हुन सक्ने अपराधिक घटनालाई मध्यनजर गर्दै सिन्धुलीमाढी बजार र आसपासका क्षेत्रमा २५ वटा सीसीटिभि जडान गरिएको थियो । जडित सबै सीसीटिभि दुई वर्षदेखि चालु अवस्थामा नहुँदा विभिन्न अपराधिक घटनाको छानबिन गर्न र जिल्लाको शान्ति सुरक्षामा चुनौती थपिएको भनेपछि कमलामाई नगरपालिकाको प्रविधियुक्त सहर निर्माण गर्ने अभियानअन्तर्गत गत आर्थिक वर्ष २०७५-७६ को १ करोड १६ लाख रकमबाट सडकमा सोलार बत्ती तथा सीसी क्यामेरा जडान गरिएको हो ।
बजार क्षेत्र, मुुख्य सडक तथा संवेदनशील स्थान, बसपार्क साथै सरकारी कार्यालय अगाडि गरी जम्मा २८ वटा सीसी क्यामरा राखेर बजार क्षेत्रलाई २४ सै घण्टा निगरानीमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सोमबार जिल्ला प्रहरी कार्यालयमा सीसी क्यामेरा जडानको उद्घाटन गर्दै कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले सीसी क्यामेरामार्फत आधुनिक तरिकाले प्रहरीलाई अपराध अनुसन्धान गर्न सहज हुने तथा जिल्लामा शान्ति सुरक्षा थप राम्रो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । साथै उनले सम्पूर्ण सुरक्षा निकायहरूसँग सहकार्य गरेर अन्य संवेदनशील क्षेत्रको अध्ययन गरी थप सीसी क्यामेरा राख्नेसमेत बताए ।
सीसी क्यामेराको जडानसँगै सुरक्षित नगरको कार्य थालनी भएको उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमरेश वैदारले बताए । पहिले जडान गरिएको सीसी क्यामेराको अनुभवबाट गुणस्तरीय सीसी क्यामेराको सञ्चालन कार्य महत्वपूर्ण रहेको बताउँदै सुरक्षित सहर निर्माणमा आफूहरू सहकार्य गर्न तयार रहेको वैदारले बताए । सीसी क्यामेरा जडानसँगै बजार क्षेत्रका व्यापारीहरूले सुरक्षित महसुस गरेको गर्ने अपेक्षा गरेका छन् ।