मीनकुमार नवोदित
बुधवार, भदौ ४, २०७६
354

विराटनगर- प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो बढिरहेका बेला उद्योगी व्यवसायीहरूले मुख्यमन्त्री शेरधन राईलाई भेटेर औद्योगिक समस्या समाधान गरिदिन हारगुहार गरेका छन् ।
उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले मुख्यमन्त्री राईलाई भेटेर औद्योगिक वातावरण बिग्रँदै गएको गुनासो पोखे । औद्योगिक वातावरण बनाउन प्रदेश सरकारले भूमिका खेल्नुपर्नेमा उनीहरूले सुझाए । संगठनका अध्यक्ष भीम घिमिरेले भारतको विहारस्थित परमान नदीमा रहेको मीरगन्ज पुलबाट ४० मेक्ट्रिकटन भन्दा माथिका ढुवानीका साधन सञ्चालनमा कठिनाई भोग्नु परेको बताए । उनले पुलबाट बढी वजनका सवारी सञ्चालनमा रोक लगाउँदा आयात–निर्यात प्रभावित भएको उल्लेख गरे । “मीरगन्ज पुलबाट ४० मेक्ट्रिक टनभन्दा माथिका ढुवानी साधन सञ्चालन गर्न पाइँदैन,” उनले भने, “यसले आयात निर्यातलाई प्रभावित पारेको छ ।” उनले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसमक्ष तत्काल पुलको मर्मत गर्नका लागि पहल गर्नुपर्ने बताए ।

तीन वर्षदेखि मीरगञ्ज पुलको समस्या झैल्दै आएका छन् यस क्षेत्रका उद्योगी व्यवसायीले । गत वर्ष पुलबाट सवारी सञ्चालनमा रोक लगाउँदा सुनसरीको भान्टाबारी नाकाबाट आयात निर्यात गर्नुपरेको थियो । अझैसम्म सरकारले लगानीको वातावरण बनाउन नसकेको घिमिरेको कथन छ । “यही स्थिति रहने हो भने सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा पूरा हुँदैन,” उनले भने, “त्यसका लागि लगानीको वातावरण बनाउनुपर्छ । नयाँ लगानी आउन सकेको छैन । भएका लगानी जोखिममा परेको छ ।”
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले विद्युतको लोभोल्टेज र ट्रिपिङको समस्याले उद्योगी हैरान भएको गुनासो पोखे । प्रदेश सरकारले उद्योगीका समस्या समाधान गर्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो । मुन्दडाले परिवर्तिन नीति नियमले उद्योग÷व्यवसाय सञ्चालन गर्न कठिनाई हँुदै गएकाले उद्योग–व्यवसायमैत्री नीति निमार्णमा जोड दिए । “उद्योग–व्यवसाय क्षेत्रले नयाँ–नयाँ चुनौतीको सामना गर्नुपर्ने अवस्था सिर्जना हुँदै गएको छ,” मुन्दडाले भने, “प्रदेश सरकारले अभिभावकत्वको भूमिका निर्वाह गरी सहज वातावरण बनाउनुपर्छ ।”
अध्यक्ष मुन्दडाले प्रदेशमा रोजगारीको अवसर सिर्जना, प्रदेशको आर्थिक वृद्धिमा मद्दत, आयात प्रतिस्थापनका साथै वैदेशिक मुद्रा आर्जनमा उद्योग–व्यवसायको महत्वपूर्ण भूमिका हुने भएकाले प्रदेश सरकारलाई उद्योगमैत्री नीति बनाउन आग्रह गरे ।
मुख्यमन्त्री राईले मीरगन्ज पुलको कारण आयात–निर्यातमा उद्योगी-व्यवसायीले भोग्नु परेको समस्या समाधानका लागि तत्काल संघीय सरकारमा पहल गरी समाधान खोज्ने आश्वासन दिए । उनले भने, “संघीय सरकारसँग समन्वय गरी वैज्ञानिक तवरले एकीकृत कर प्रणाली लागू गर्न पहल प्रारम्भ गरिनेछ ।”
मुख्यमन्त्रीले विद्युत्को समस्याबारे आफू पनि अवगत भएकाले यसको समाधानका उपायका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकका साथ उद्योगी-व्यवसायीको उपस्थितिमा छलफल गरी ठोस कार्यनीतिसहित अगाडि बढ्ने बताए ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष नविन रिजाल, उपाध्यक्ष अनुपम राठी, महासचिव अनिल साह, सचिव अनिल सारडा, सदस्य मनिष मारु, उद्योग संगठनका निवर्तमान अध्यक्ष मुकेश उपाध्याय, पूर्वअध्यक्ष अशोक मुरारका, शिवशंकर अग्रवाल, वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेल, संगठनका उपाध्यक्ष प्रदीप मुरारका, राजकुमार गोल्छा, राकेश सुराना, कोषाध्यक्ष नन्दकिशोर राठी, सदस्य सुरेन्द्र गोल्छा, विपिन काबरा, विनोद पौडेललगायतले विराटनगर विमानस्थलको स्तरोन्नति, विराटनगर चक्रपथ निर्माण, विशेष आर्थिक क्षेत्र, प्रादेशिक प्रदर्शनीस्थल निर्माण गर्नुपर्नेमा जोड दिए ।