कारोबार संवाददाता
बुधवार, भदौ ४, २०७६
313

वीरगन्जमा नव उद्यमशाला, प्रथम बिजनेस इन्क्युवेसन कार्यक्रम सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको छ । सुरु गरिएको नयाँ सोच भएका युवाहरूलाई व्यवसाय गर्न तथा उद्यमशीलता विकासका कार्यमा आकर्षित गर्न सरोकारवालाको सञ्जाल विस्तार, विकास र स्टार्टअप इकोसिस्टम संस्थागत गर्न सघाउने उद्देश्यले कार्यक्रम गर्नका लागि वीरगन्ज उद्योग वाणिज्य संघ, अन्तरप्रेरणा प्रालि र वीरगन्ज पब्लिक कलेजबीच त्रिपक्षीक्ष सम्झौता गरिएको हो ।
त्रिपक्षीय सम्झौताले देशमा विद्यमान बेरोजगार समस्या समाधानका लागि सहयोग पुग्ने अपेक्षा गरिएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए । उनले देशमा रोजगार नपाएर खाडी मुलुकमा काम गर्न जान बाध्य नेपाली युवाहरूलाई यो कार्यक्रमले आकर्षित गर्ने विश्वास लिएको केडियाले बताए ।

वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुवोध गुप्ताले वीरगन्जको विशेषतालाई केन्द्रीत गरेर कुन सेक्टरमा फोकस हुने हो त्यो तय गरेर अघि बढ्न सुझाव दिए । वीरगन्जका लागि आवश्यक कृषि, उद्योग, व्यापार व्यवसायलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन हुनुपर्ने बताउँदै अन्य स्थानमा जस्तै कार्यक्रम प्रतिलिपि हुनु नहुनेमा जोड दिए ।
वीरगन्जमा उद्यमशीलता विकासका लागि इन्कुवेसन सेन्टरको स्थापना गर्न लागिएको बताउँदै अन्तर प्रेरणाका निर्देशक निरज खनालले वीरगन्जको आवश्यकता र यहाँ उत्पादित समानको बजारीकरण तथा अन्तर्राष्ट्रिय बजारका लागि आवश्यक उत्पादनका लागि पनि परामर्श तथा तालिमहरू प्रदान गर्न कार्यक्रमले सहयोग गर्ने बताए । भदौ १५ बाट एक महिनाका लागि आवेदन खोल्ने तयारी गरेको जानकारी दिँदै उनले १ देखि ५ वर्षभित्र खोलिएका १० वटा नयाँ कम्पनीलाई लिने र भइरहेको व्यवसायलाई प्रोत्साहन गर्नुको साथै वीरगन्जमा आएर रोजगारी सिर्जना गर्नेहरूलाई प्राथमिकता दिने खनालले बताए ।
छनोटमा परेका उद्यमीको उद्यमशिलता विकासका लागि ६ महिनासम्म तालिम दिने संस्थाले जनाएको छ । कार्यक्रम उद्यमशीलतासँग सम्बन्धित स्थानीय संघ–संस्था, फेडेरेसन, व्यवसायी तथा शैशिक्षक संघ–संस्थासँगको सहकार्यमा सञ्चालन गरिनेछ ।

वीरगन्ज पब्लिक कलेजका निर्देशक प्राध्यापक डाक्टर दीपक शाक्यले विद्यार्थीहरूलाई स्वरोजगार बन्नका लागि कार्यक्रमले उत्प्रेरित गर्ने बताए । उच्च शिक्षा हासिल गरेको विद्यार्थीहरू उद्यमशीलता र स्वरोजगारमा भन्दा रोजगारीमा बढी चासो लिने गरेकाले उद्यमशीलतामा युवाहरूलाई आकर्षित गर्नलाई यो उद्यम पाठशालाको स्थापना गरिएको बताए । उनले भने, “बीबीए गर्दै गरेका १ सय जना विद्यार्थीलाई पढाइपछि के गर्ने ? भनेर सोध्दा जागिर खाने मात्रै भन्छन्, आफ्नै व्यवसाय गर्छु भन्ने एकदमै कम पाइयो ।”