कारोबार संवाददाता
मंगलबार, भदौ ३, २०७६
309

नेपाल पूर्वाधार सम्मेलनको पूर्वतयारी स्वरूप गण्डकी प्रदेशको पोखरामा शनिबार एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरणमन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवश्यकताका विषयमा चर्चा गरेका थिए भने परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले तेस्रो पूर्वाधार सम्मेलनको तयारीका सन्दर्भमा जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री लम्सालले परिसंघले आयोजना गर्न लागेको तेस्रो पूर्वाधार सम्मेलन एक महत्वपूर्ण कार्यक्रम रहेको र यस्तो कार्यक्रममा प्रदेशलाई त्यहाँका परियोजनाहरू अन्तर्राष्ट्रिय जगतमा प्रदर्शन गर्ने व्यवस्था मिलाउनु अत्यन्त सकारात्मक रहेको बताएका थिए । गण्डकी प्रदेशले त्यहाँ रहेका सम्भावित परियोजनाहरूलाई सम्मेलनमा प्रस्तुत गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
त्यस्तै गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष पौडेलले प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको आधारपत्र तयार भइसकेको र पूर्वाधारसहित ७ वटा क्षेत्रलाई प्रदेशले मुख्य क्षेत्रको रूपमा पहिचान गरेको जानकारी प्रस्तुत गरेका थिए । यी ७ वटै क्षेत्रको समग्र विकासका लागि योजनाबद्ध रूपमा प्रदेश अगाडि बढ्दै छ, यस्तो समयमा परिसंघले गर्न लागेको पूर्वाधार सम्मेलन प्रदेशका लागि समेत अत्यन्त महत्वपूर्ण रहने उनको भनाइ थियो ।
सोही कार्यक्रममा बोल्दै नेपाल युवानिर्माण व्यवसायी समुदायका अध्यक्ष आनन्द सुबेदीले देशको पूर्वाधारको विकास गर्ने जिम्मा युवाहरूमा आई परेकाले आफूहरू यसमा होमिएको बताए । सोही कार्यक्रममा सम्मेलनको आयोजनाका सहयोगी तथा नेपाल पूर्वाधार विकास बैंकका नायव महाप्रवन्धक सूर्यबहादुर तामाङले पूर्वाधार निर्माणमा लगानीको महत्वका बारेमा चर्चा गरेका थिए ।
यस पटकको पूर्वाधार सम्मेलनमा परिसंघले नेपालका सातवटै प्रदेशमा पूर्व सम्मेलन छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी त्यहाँको आवश्यकता पहिचान गर्ने कार्यक्रम गरिरहेको छ । त्यसरी गरिएको छलफल तथा अन्तरक्रियाबाट प्राप्त निचोडलाई पूर्वाधार सम्मेलनमा प्रस्तुत गर्ने गरी कार्यक्रम तय भएको छ ।
सो कार्यक्रममा प्रदेश सरकारका उच्चपदस्थ कर्मचारीहरू, परिसंघ गण्डकी प्रदेशका संयोजक विनोद न्यौपानेलगायत स्थानीय उद्योगी तथा व्यवसायीहरूको उल्लेख्य उपस्थिति थियो ।