कारोबार संवाददाता
मंगलबार, भदौ ३, २०७६
296

नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी हस्पिटलबीच सहकार्य गर्ने विषयमा सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको
छ । चेम्बरका तर्फबाट चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र मेडिसिटी हस्पिटलका तर्फबाट सो हस्पिटलका अध्यक्ष डा. उपेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।

समझदारीपत्रमा दुवै पक्षले संयुक्त रूपमा व्यावसायिक उत्तरदायित्व सहितको कार्यक्रम गर्ने, नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी, सदस्य, वस्तुगत, आबद्ध, द्विराष्ट्रिय, जिल्ला, नगर चेम्बर अफ कमर्सका सदस्य र चेम्बरसँग आबद्ध व्यक्तिहरूलाई मेडिसिटी हस्पिटलको सेवा उपलब्ध भएमा सहुलियतपूर्ण दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख छ ।
सो अवसरमा आफ्नो धारणा राख्दै मेडिसिटी हस्पिटलका अध्यक्ष डा. महतोले मेडिसिटी एक अभियानका रूपमा स्थापित भएकाले यसमा सबैको सहयोग अपेक्षित रहेको बताए । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्बरले मेडिसिटीसँग सहकार्य गर्न समझदारी गरेको स्वास्थ्य क्षेत्रमा पहिलो समझदारीपत्र भएको हुनाले यो शुभारम्भबाट स्वास्थ्य सेवाबाट चेम्बरका सदस्य एंव आबद्ध सबै लाभान्वित हुने आशा एवं विश्वास व्यक्त गरे ।