कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६
189

कवाडी व्यवसायमा लगाइएको १३ प्रतिशत भ्याट स्वीकार्य नहुने कवाडी व्यवसायीहरूले बताएका छन् । नेपाल कवाडी मजदुर व्यवसायी संघको वार्षिक साधारणसभामा बोल्दै कवाडी व्यवसायीहरूले सरकारले लगाएको अनिवार्य भ्याटको व्यवस्था आफूहरूले नमान्ने बताए ।
कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष धर्मेन्द्र लामाले सरकारले १३ प्रतिशत भ्याट लगाउने निर्णयले व्यवसायीहरू पलायन हुने र लाखौंको रोजगारी गुम्ने अवस्था रहेको बताउँदै अध्यक्ष लामाले यस विषयमा सरकार संवेदनशील बन्न सुझाव दिए । उनले यो निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह पनि गरे ।

संघका सचिव शुक्रबहादुर लामाले फोहोरलाई मोहर बनाउँदै कवाडी व्यवसायीहरूले स्वरोजगार र राज्यलाई कर तिरिरहेकाले राज्यले उचित सम्मान गर्नुपर्ने बताए ।
व्यवसायीहरू एकजुट हुन नसक्दा काम गर्न असहज भइरहेको बताउँदै उनले नेपाल सरकार स्थानीय तहको नीति तथा कार्यक्रमले कवाडी व्यवसायीहरूलाई सम्बोधन गर्नुपर्ने र त्यसका लागि दबाब दिने पनि बताए । एक्लै केही गर्न नसकिने बताउँदै उनले एउटै छातामुनि बसेर काम गर्न व्यवसायीहरूलाई आग्रह गरे ।
आफ्ना माग र गरिखाने वातावरण बनाउने विषयमा सम्बन्धित निकायले ध्यान नदिएमा आन्दोलन गर्न पनि संघ तयार रहेको भन्दै उनले व्यवसायीलाई साथ दिन र सहयोग गर्न आग्रह गरे । उनले कवाडी व्यवसायीहरूको हकहित र अधिकारका लागि संघर्ष गर्दै संघले २९ वर्ष व्यतित गरेको बताए । कवाडी व्यवसायीहरूको हितका लागि आफू लागि परेको बताउँदै उनले आगामी दिनमा आफ्नो भूमिका अझ सशक्त बनाउने बताए ।
संघको काठमाडौं जिल्ला अध्यक्ष सञ्जय यादवले कवाडी व्यवसायीहरू साना व्यवसायी भएकाले सरकारले सोहीअनुसार व्यवहार गर्नुपर्ने बताए । ठूला व्यवसायीहरूले साना व्यवसायीलाई हेर्ने दृष्टिकोण पनि गलत रहेको उनले बताए । यो अवस्था चिर्दै गरिखाने वातावरण बनाउन आवश्यक रहेको उनले बताए ।
संघका सल्लाहकार विवेक सिलवालले सरकारी नियम र कानुनले व्यवसायीहरू मारमा परेको उल्लेख गरे । कवाडी व्यवसायीलाई भ्याटमा जान अनिवार्य गरेपछि समस्या परेको उनले उल्लेख गरे । कवाडी मजदुर व्यवसायीहरू एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको भन्दै सिलवालले आफ्नो व्यवसाय र रोजगारी बचाउन लाग्नुपर्ने उल्लेख गरे । सरकारले कवाडी व्यवसायीमाथि लगाएको १३ प्रतिशत भ्याटको निर्णय तत्काल फिर्ता गर्न माग पनि गरे । यसको विरुद्धमा व्यवसायीहरू सडकमा आउन पनि तयार रहेको भन्दै त्यसको सामना गर्न उनले सरकारलाई चेतावनी दिए ।