कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६
185

गणतन्त्र इन्डोनेसियाको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा शनिबार एक समारोहकाबीच नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले वाणिज्यदूतको कार्यालय, आईएमई कम्प्लेक्स परिसरमा इन्डोनेसियाको झन्डोत्तलन गरे । कार्यक्रममा नेपालमा बसोबास गरिरहनुभएका इन्डोनेसियन नागरिकहरू, वाणिज्यदूत कार्यालयका कर्मचारी तथा आईएमईमा कार्यरत कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको भन्दै ढकालले इन्डोेनेसियको शान्ति र समृद्विको कामना गरे ।
सन् २००८ देखि नै विभिन्न उद्देश्यले नेपालमा बसोबास गरिरहेका इन्डोनेसियन नागरिकसँग सँगै बसेर इन्डोनेसियाको स्वतन्त्र दिवस मनाउन पाउँदा खुसी लागेको पनि उनले बताए । नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
गणतन्त्र इन्डोनेसियाले आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई नेपालका लागि इन्डोनेसियाको अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेयता यी दुई देशबीचको सम्बन्ध थप मजबुत बन्दै आएको तथा नेपालका लागि इन्डोनेसियाको गैरआवासीय राजदूतको कार्यालय बंगलादेशको ढाकामा अवस्थित रहेको पनि वाणिज्यदूतको कार्यालयले जनायो ।