कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६
119

नेपाल उद्योग वाणिज्य महासंघको रिक्त कोषाध्यक्ष पदमा वर्तमान कार्यकारिणी समिति सदस्य निरक केसी मनोनीत भएका छन् । महासंघ कार्यकारिणी समितिको शुक्रबारको बैठकले सुर्खेतका केसीलाई निर्विरोध निर्वाचित गरेको हो । महासंघ अध्यक्ष भवानी राणाको अध्यक्षतामा सम्पन्न कार्यकारिणी समितिको १३ औं बैठकबाट केसी कोषाध्यक्ष पदमा निर्वाचित भएको महासंघले जनाएको छ । अध्यक्ष राणाले नवनिर्वाचित कोषाध्यक्ष केसीलाई शुक्रबार नै पद तथा गोपनियताको शपथ ग्रहण गराइन् । महासंघका तत्कालीन कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले कृषि उद्यम केन्द्रमा भ्रष्टाचार भएको भन्दै मिडियाबाजी गरेको आरोपमा आलोचना भएपछि राजीनामा दिएका थिए ।
कात्तिक २९ मा साधारणसभा

महासंघले आगामी कात्तिक २९ मा विशेष साधारणसभा डाकेको छ । महासंघको १२ औं कार्यकारिणी समिति बैठकमा पेस गरिएको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न विशेष साधारणसभा बोलाइएको हो । कात्तिक २९ मा बस्ने उक्त विशेष साधारणसभाले विधान संशोधन समितिका सभापति चण्डिराज ढकालले प्रस्तुत गरेको संशोधन प्रस्तावमाथि छलफल गर्दै निर्णय गर्ने जनाइएको छ । संशोधन प्रस्तावमा महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने साविकको व्यवस्थालाई यथावत राख्ने कि प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने भन्ने विषय सबैभन्दा बढी विवादित छ । विशेष साधारणसभाभन्दा १५ दिनअघि कार्यकारिणी समितिको बैठक पुनः बस्ने जनाइएको छ ।
मुरारकाको नोट अफ डिसेन्ट
बैठकमा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले भने विशेष साधारणसभा बोलाउने निर्णय कानुनसम्मत नभएको भन्दै असहमति (नोट अफ डिसेन्ट) जनाएका छन् । कार्यकारिणी समितिले विधान अनुमोदन गरेपछि मात्रै साधारणसभा बोलाउनसक्ने महासंघको विधानमा व्यवस्था भए पनि त्यसो नगरिएको भन्दै मुरारकाले नोट अफ डिसेन्ट लेखेका हुन् ।