कारोबार संवाददाता
मंगलबार, श्रावण २८, २०७६
664

गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित सानिमा समूहले काठमाडौंको धुम्बाराहीमा होटल सञ्चालनमा ल्याएको छ । २ अर्ब ९ करोड खर्चेर सानिमा समूहले निर्माण गरेको होटलमा १०८ कोठा छन् भने एक पटकमा यस होटलले अधिकतम २१५ जनालाई सेवा दिनसक्ने जनाइएको छ ।
अकामा होटलमा सुपेरियर ९५, डिलक्स ६, डिलक्स सुइट ४, फ्यामिली सुइट २ र एउटा प्रेसिडेन्टर सुइट रहेको छ । होटलका अध्यक्ष विनयकुमार श्रेष्ठका अनुसार संस्कृतमा अकामालाई ‘वर्चस्व’ भनिन्छ । सानिमाले हात हालेको ठाउँमा आफ्नो वर्चस्व कायम गर्ने उद्देश्यले होटलको नाम नै अकामा राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सानिमा समूहले यसअघि वाणिज्य बैंक, हाइड्रोपावर, बिमा, स्वास्थ्य तथा सञ्चार उद्योगमा लगानी गरिसकेको छ । अकामा भने सानिमा समूहको सेवा क्षेत्रमा पहिलो पाइला भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । सेवा क्षेत्रमा पनि आफूहरूको आवश्यकता महसुस गरेर होटल सञ्चालनमा ल्याइएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
होटलमा विश्वस्तरीय आधुनिक सेवालाई नेपाली मौलिकतामा ढाल्ने प्रयास गरिएको छ । होटलमा आउने पाहुनालाई स्थानीय नेवारी र हिमाली संस्कृतिको मिश्रण अनुभव होस् भनेर गम्भीरतापूर्वक ध्यान दिइएको होटलले जनाएको छ ।
विश्वस्तरीय सेवासुविधा दाबी गरिएको सो होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किमीको दूरीमा रहेको तथा मध्य सहरमा रहेकाले सेवाग्राहीको पहिलो रोजाइ बन्ने महाप्रबन्धक राजु श्रेष्ठले बताए । अन्य पर्यटकीय स्थलहरूमा पुग्न सहज हुने तथा सहरको ट्राफिक जाम छल्न उपयुक्त हुने हिसाबले यसलाई चक्रपथ नजिकै निर्माण गरिएको होटलका जनरल श्रेष्ठको भनाइ छ ।
होटल अकामामा समसामायिक डिजाइनमा स्थानीयपनको आभास दिने आधुनिक तथा विशेष आवासको व्यवस्था छ । शान्त एवं रमणीय वातावरणमा सुन्दर र आरामदायी कोठामा अतिथिले आफ्नो आवश्यकताअनुसार आधुनिक उपकरणहरू सहजै उपभोग गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । अकामाको नवौं तल्लामा ‘चाओ बेला चाइनिज–इटालियन रेस्टुराँ’मा ग्राहकले चौतर्फी मनोरम दृश्यको अवलोकन गर्दै अन्तर्राष्ट्रियस्तरको खानाको स्वाद लिन सक्छन् ।
होटलमा प्रतीक्षालय, कफी सप, पुल बार तथा रेस्टुराँको सुविधा सहज रूपमा उपलब्ध छन् । होटल अकामामा ५ ओटा अलग अलग डिजाइनमा बनेका हल छन् । ती हलहरूमा विवाहलगायत सामाजिक समारोह, सम्मेलन, बैठक, कार्यशाला गोष्ठी तथा विविध किसिमका कार्यक्रम गर्न सकिने महाप्रबन्धक श्रेष्ठको भनाइ छ । १५ देखि ५०० जनासम्मलाई भोज वा अन्य कार्य व्यवस्थापनका लागि होटल अकामा सक्षम छ । सुन्दर स्विमिङ पुल र पुलसँगै रहेको बार, यस होटलका मुख्य आकर्षण हुन् । यसका साथै प्रतिष्ठित अमेरिकन ब्रान्ड साइबेक्सका उपकरणले सजिएको व्यायाम शालामार्फत ग्राहकले गुणस्तरीय सेवा लिन सक्छन् ।