कारोबार संवाददाता
बुधवार, श्रावण १, २०७६
415

नेपाल चेम्बर अफ कमर्शले ढुवानी वेब वेस्ड ट्र्याकिङ व्यवस्था बुधबारदेखि परीक्षण गर्न माग गरेको छ । राजस्व अनुसन्धान विभागबाट वेबमा आधारित ढुवानी प्रणालीअन्तर्गत एक स्थानबाट अर्को स्थानमा व्यावसायिक प्रयोजनको मालसामान ओसारपोसार गर्नपूर्व सो सम्वन्धी बिवरण वेबमा राख्नुपर्ने व्यवस्था गरेको छ ।
केन्द्रीय सूचना प्रणालीमा बुधबारदेखि प्रवृष्ट गरेरमात्र ओसारपोसार गर्नु पर्ने गरी जारी भएको व्यवस्थाबाट राजमार्गमा अवस्थित राजस्वका ढाटहरू हटाउने व्यवस्थालाई चेम्बरले स्वागत गरेको छ । प्रस्तावित नयाँ व्यवस्थाबाट व्यवसायीहरूलाइ सहजता प्रदानगर्ने भएता पनि नगरक्षेत्र भित्रको स्थानीय ढुवानीमा समेत लागु गरिँदा व्यवसायमा थप जटिलता आउने अनुभूति उद्यमी व्यवसायीहरूबीच रहेको चेम्वरले जनाएको छ ।

ट्र्याकिङ सिष्टम तत्कालै लागू नगरौं
नेपाल राष्ट्रिय व्यवसायी महासंघले भने भेइकल ट्रयाकिङ सिस्टम तत्काल लागू नगर्न आग्रह गरेको छ । नयाँ आर्थिक वर्षको सुरुवातसँगै राजस्व अनुसन्धान विभागले शुरु गर्न लागेको भेइकल ट्रयाकिङ सिस्टम तत्कालै लागू गर्दा साना व्यवसायीहरू समस्यामा पर्ने भन्दै महासंघले तत्कालै यस्तो लागू नगर्न आग्रह गरेको हो ।
देशभित्र मालवस्तुको आन्तरिक ओसारपसारको निगरानी अब अनलाइन प्रणालीबाट गर्ने गरी राजश्व अनुसनधान विभागले उक्त सिष्टम साउन १ देखि लागू गर्ने घोषणा गरिसकेको छ । व्यवसायीहरू यतिबेला धेरैतिबाट समस्यामा परेको बेला पुनः अर्को नीति ल्याएर अपठेरोमा पार्न नहुने मंगलबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
“बैंकको ब्याजदर, महंगो घरभाडा, स्थानीय सरकारको विभिन्न शिर्षकका राजश्व लगायतका कारण व्यवसायीहरू त्यसै पनि समस्या छौं, अर्को महत्वपूर्ण कुरा मुलुक अझै पनि साक्षर हुन सकेको छैन, प्रविधिको प्रयोग भर्खरै बढ्दै गएको अवस्थामा प्रविधिबारे बुझ्न नै नपाई यो लागु हुनुहुँदैन भन्ने हाम्रो माग हो,” महासंघद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
नयाँ प्रविधि भएको र व्यवसायीहरूलाई बुझ्न समेत केही समय लाग्ने हुँदा यसलाई एक वर्ष परीक्षणको रुपमा लागू गर्नुपर्ने महासंघका अध्यक्ष नरेश कटुवालले बताए । सरकारले ल्याएको नीति कार्यान्वयनमा महासंघ प्रतिवद्ध रहेको भन्दै तत्कालै अनिवार्य लागु गर्दा व्यवसायीहरूलाई समस्या हुने भएकाले एक वर्ष परीक्षणको रुपमा सञ्चालन हुनु पर्ने अध्यक्ष कटुवालले बताए ।
“सरकारको नीति हो, हामीले यसलाई नराम्रो भन्न खोजेको कदापी होइनौं,” अध्यक्ष कटुवालले भने, “प्रविधिमा हामी धेरे पछाडी छौं, प्रविधिको पहुँचमा पुग्न अझै समय लाग्छ नै यसकारण पनि अहिले नै यो अनिवार्य लागू गर्नु हुँदैन भन्ने हाम्रो माग हो ।” विभाग लागु गर्न लागेको भेइकल ट्रयाकिङ सिष्टम तत्कालै लागू गर्न साना व्यवसायीहरूलाई रहेको उनले बताए ।