मीनकुमार नवोदित
आइतवार, असार १, २०७६
1001

नेपाली समुदायमाझ गुन्द्रुक र चाउचाउ प्रिय

बेल्जियम (ब्रल्सेस)-युरोपेली बजारमा नेपाली गलैंचाको माग अत्यधिक रहेको पाइएको छ । खासगरी म्यानमारबाट आयात हुने गलैंचामा युरोपेली युनियन (ईयू)ले प्रतिबन्ध लगाएपछि युरोपमा नेपाली गलैंचाको माग बढेको हो ।
रोहिंग्या समुदायमाथि दमन गरेको भन्दै युरोपेली युनियनले म्यानमारबाट आयात हुने गलैंचामा प्रतिबन्ध लगाएको छ । म्यानमारका रोहिंग्या समुदाय बंगलादेशमा शरणार्थीका रुपमा बसेका छन् । म्यानमार सरकारले रोहिंग्यामाथि दमन गरेर मानवअधिकारको व्यापक उल्लंघ गरेको भन्दै गलैंचालगायतका वस्तुको आयातमा ईयुले रोक लगाएको छ । युरोपमा म्यानमारबाट ठूलै परिणामको गलैंचा आयात हुँदै आएको थियो । प्रतिबन्धपछि नेपाली गलैंचाको माग बढे पनि नेपालबाट निर्यात बढाउने काम नभएको गैरआवासीय नेपाली संघ (एनआरएन) युरोपका संयोजक शिवकुमार बरुवालले बताए । “म्यानमारबाट आउने गलैंचामाथि रोक लगाएको अवस्थामा नेपाली गलैंचाको आयात बढाउन सकेको छैन,” बरुवालले भने, “अहिले युरोपको बजारमा नेपाली गलैंचाका लागि निकै ठूलो अवसर छ ।” नेपाल सरकारले गलैंचाको निर्यात बढाउन पहल गर्नुपर्नेमा उनले जोड दिए । नेपालको व्यापार घाटा हरेक दिन बढ्दै गएको छ । व्यापार घाटा कम गर्न गलैंचाको निर्यातले महत्वपूर्ण भूमिका खेल्ने उनको विचार छ । नेपालले निर्यात क्षमता बढाउन सके बजारीकरणको समस्या नभएको संयोजक बरुवालको भनाइ थियो । गुणस्तरको हिसाबले नेपाली गलैंचा विश्वमै प्रख्यात मानिन्छ । युरोपेलीहरूले नेपाली गलैंचा मन पराउने गरेका छन् । युरोपमा गलैंचा मात्रै नभएर नेपाली उत्पादनको ठूलो बजार रहेको उनले बताए । बरुवालका अनुसार उत्पादनको गुणस्तरलाई ध्यान दिने हो भने बजारको समस्या छैन । उनले विगतको जस्तो भद्दाभन्दा छरितो र धुन मिल्ने गलैंचा बढी मन पराउने गरेका छन् । युरोपमा नेपाली गलैंचाको बजार विस्तार गर्ने अहिले सुनौलो अवसर रहेको नेपाली व्यवसायी संघ बेल्जियमका महासचिव मदन दवाडी बताउँछन् । “आवश्यक उत्पादन नेपालले पठाए युरोपमा मार्केटिङको समस्या छैन,” महासचिव दवाडीले भने, “नेपाली व्यवसायीमार्फत नै बिक्री वितरण गर्न सकिन्छ । नेपाली व्यवसायीहरूले नै मार्केटिङ गर्छन् ।” युरोप भ्रमणमा रहेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान नेतृत्वको टोलीसँग पनि व्यवसायीहरूले नेपाली उद्योगीहरूलाई युरोपमा बजार विस्तार गर्न सुझाएका थिए । गुणस्तरीय वस्तुको आयातमा युरोपमा समस्या छैन । युरोपेलीहरू गुणस्तरीय वस्तुका लागि जतिसुकै पनि मूल्य खर्च गर्न तयार हुन्छन् । उनीहरूले नेपाली गलैंचालाई अत्यधिक मन पराउँछन् । सरकारीस्तरबाटै गलैंचाको निर्यातमा ध्यान दिनुपर्ने युरोपस्थित नेपाली व्यवसायीहरूको सुझाव छ । नेपालले गलैंचाको निर्यात बढाउन सके युरोपमा बजारको समस्या नरहेको उनको भनाइ छ । “म्यानमारबाट आयात हुने गलैंचामा रोक लगाएको अवस्थामा नेपाली गलैंचाको आयात बढाउन सके नेपाललाई निकै फाइदा पुग्ने थियो,” दवाडीले थपे, “यतिबेला नेपाली गलैंचाका लागि युरोपमा प्रतिस्पर्धा नै छैन ।” बेल्जियमस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुदीप भट्टराई पनि नेपाली उत्पादनको बजार युरोपमा व्यापक रहेको बताउँछन् । अझ गलैंचाको माग युरोपमा पछिल्लो समय निकै बढेको उनको भनाइ छ । युरोपका जुनसुकै मुलुकमा पनि नेपाली गलैंचाको बजार राम्रो रहेको भट्टराईले बताए । युरोपमा गलैंचाको निर्यात बढाउन महासंघका तर्फबाट पहल गर्ने उपाध्यक्ष किशोर प्रधानले बताए । “गलैंचाको निर्यात बढाउन सरकार र उद्योगी व्यवसायीबीच सहजीकरण गर्न महासंघ तयार छ,” प्रधानले भने, “यो अवसरलाई नेपालले त्यतिकै खेर फ्याल्नुहुँदैन ।”

गुन्द्रुक र चाउचाउको माग पनि उच्च

नेपालमा गुन्द्रुकको महत्व छैन । तर, युरोपमा नेपाली गुन्द्रुक र चाउचाउको माग उच्च छ । युरोपमा नेपाली समुदायको बसोबास भएको क्षेत्रमा गुन्द्रुक र चाउचाउको माग अत्यधिक छ । युरोपमा वैधानिक रुपमा १ लाख ५० हजारभन्दा बढी नेपाली बसोबास गरेका छन् । वेलायतलाई समेत जोड्ने हो भने ३ लाख नाघ्ने संयोजक बरुवालले बताए ।
बेल्जियममा मात्रै वैधानिक रुपमा ८ हजारभन्दा बढी नेपाली बसोबास गर्छन् । नेपाली समुदायले सञ्चालन गरेका ३ सयभन्दा बढी होटल र रेष्टुरेन्ट छन् बेल्जियममा । ती सबैमा गुन्द्रुक र चाउचाउको माग निकै छ । नेपाली समुदायले नेपाली स्वाद खोज्ने भएकाले पनि गुन्द्रुक र चाउचाउको माग बढेको हो । युरोपेलीहरूले पनि नेपाली गुन्द्रुक र चाउचाउ मन पराउने गरेका छन् । नेपाली रेष्टुरेन्टमा खान आउनेहरूले विशेष गरी ढिंडो र गुन्द्रुक खोज्ने गरेको नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष यामनाथ निरौलाले बताए । लामो र झन्झटिलो प्रक्रियाका कारण आयातमा समस्या हुने गरेको संघका महासचिव दवाडीले बताए । “झन्झटिलो प्रक्रियाका कारण युरोपमा आइपुग्दा डेटस्पायर भइसकेको हुन्छ,” दवाडी भन्छन्, “सहज रुपमा आयात हुने हो भने गुन्द्रुक र चाउचाउको बजार पनि युरोपमा निकै राम्रो छ ।” गुन्द्रुक र चाउचाउको निर्यातलाई सहज बनाउनेतर्फ नेपाल सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ । सरकारले निर्यात प्रक्रियालाई सरल बनाउनुपर्नेमा जोड दिए । “गुणस्तरमा ध्यान दिने हो भने गलैंचापछि युरोपको बजारमा चाउचाउको सम्भावना उच्च छ,” दवाडीले भने । संयोजक बरुवालका अनुसार प्याकिङमा पनि समस्या छ । स्थानीय उपभोक्ताले गुणस्तरीय वस्तु खोज्छन् । झन्झटिलो प्रक्रियाका कारण भारत हुँदै युरोप आइपुग्न कम्तीमा ३ महिना लाग्ने गरेको छ । कतिपय वस्तु युरोप नआइपुग्दै उपभोग्य मिति सकिने गरेको छ । नेपालको आफ्नै बारकोर्ड नहुँदा झनै समस्या हुने गरेको छ । नेपालको आफ्नै बारकोड नहुँदा व्यवसायीहरूले भारतको बारकोर्ड प्रयोग गर्नुपर्ने बाध्यता छ ।
युरोपका सबैजसो मुुलुकमा नेपाली रेष्टुरेन्ट छन् । ती रेष्टुरेन्टमा गुन्द्रुक र चाउचाउको माग रहेको उनी बताउँछन् । युरोपमा बसोबास गर्नेबाहेक भ्रमणमा आउने नेपालीले समेत गुन्द्रुक र चाउचाउ खोज्ने गरेको अष्ट्रियाको इन्सवर्कमा २० वर्षदेखि बस्दै आएका नेपाली व्यवसायी दिलकुमार घमालले बताए । अष्ट्रियामा उनको रेष्टुरेन्ट छ । “नेपाली रेष्टुरेन्टको पहिचान भनेकै गुन्द्रुक र डिंढो हो,” उनले भने, “यो परिकारका पारखी विदेशी नै बढी छन् ।” युरोपमा गुन्द्रुक र चाउचाउबाहेक कोदोको पिठो, फापरको पिठो, कालो दाल, टिम्मुर, मम मसला, हेण्डिग्राफका सामानको माग उच्च रहेको संयोजक बरुवालले बताए ।