कारोबार संवाददाता
मंगलबार, चैत्र ५, २०७५
541

ललितपुर उद्योग वाणिज्य संघको ५२ औं स्थापना दिवस चैत ४ गते संघको बालकुमारी स्थित भवन (क्याथफोर्ड कलेज) मा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइयो । कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले नेपालको चेम्बर आन्दोलनको इतिहासमा ५० वर्ष नाघेका थोरैमात्र संघ संगठनहरू छन् र त्यसमध्ये पनि निरन्तर सक्रिय र आफ्ना सदस्यहरूमाझ यस ललितपुर उद्योग वाणिज्य संघ लोकप्रिय रहेको बताए । नयाँ सरकार गठनपछिको एक वर्षमा पनि मुलुकको अर्थतन्त्रमा अपेक्षाकृत सुधार छैन ।
व्यापार घाटा, शोधनान्तर स्थिति, आर्थिक वृद्धि, रेमिट्यान्स आप्रवाहलगायतका अर्थतन्त्रका परिसूचकहरू अहिले पनि उस्तै नै छन् । विकास खर्च हुन नसकी सरकारी ढुकुटीमा राजस्व जम्मा भइरहने तर बजारमा तरलता अभाव हुने पुरानो रोगको उपचार हुन नसकेकातर्फ सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले अर्को साता नेपालमा लगानी सम्मेलन आयोजना गर्न गइरहेकोमा विदेशी लगानीकर्तामाझ राम्रा–राम्रा परियोजना प्रस्तुत गरी कार्यान्वयनमा ल्याउन सके देशमा रोजगार बढ्ने भई आर्थिक स्थिति चलायमानमा टेवा पुगी देशको अर्थतन्त्र सवल हुने पनि बताए ।

वल्र्ड क्राफ्ट काउन्सिलले यस क्षेत्रलाई ललितपुर क्राफ्ट सिटी घोषणा गरिसकेको अवस्था छ । यस ललितपुर उद्योग वाणिज्य संघ तथा नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले यस क्राफ्ट सिटीलाई प्रवद्र्धनका निमित्त व्यवस्थित र मर्यादित बनाउन सहकार्य गर्दै आइरहेको छ । आगामी दिनमा यस क्षेत्रलाई हस्तकलाको सहरका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने हाम्रो प्रयास जारी रहनेछ ।
यस कार्यमा सरकारबाट सहयोग पाउनेमा विश्वस्त छु भने । २०७२ सालको भूकम्पले क्षतिग्रस्त यस भीमसेन मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकासँगको सहकार्यमा उद्योग वाणिज्य संघले आफ्ना सदस्य तथा दाताहरूसँग चन्दा संकलन गरेर नै यस मन्दिर पुनर्निर्माणको काम अघि बढाएको छ भन्नु हुँदै सरकारबाट यथाशक्य सहयोग गरिदिनु हुन आह्वान पनि गरे
सभाको समुदुघाटन गर्दै सभामुख कृष्णबहादुर महराले हाल स्थिर सरकार रहेकोले उद्योगी व्यवसायीको समस्या प्रति सरकार जानकारी रहेको र देश विकासमा निजी क्षेत्रको सल्लाह, सुझाव र सहयोग लिई सरकार अघि बढ्ने बताए ।
समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं विशिष्ट सदस्य, सार्क चेम्बर अफ कर्मशका उपाध्यक्ष चण्डिराज ढकाल, नेपाल उद्योग वाणिज्य महांघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, प्रतिनिधिसभाका सदस्य पम्फा भुसाल, प्रदेश सभा सदस्य माधव पौडेलले समेतले बोलेका थिए ।
सो अवसरमा संघले भिमरथारोहण सम्पन्न गरिसकेका संघका पूर्वअध्यक्ष सुभाष गोपाल वैद्य, संंघका ज्येष्ठ सदस्य एमके मेटल इलेक्ट्रिक उद्योगका प्रोप्राइटर मंगलकृष्ण ताम्राकार, उत्तर पसल (स्टोर)का प्रोप्रााइटर उत्तर गोपाल दुवाल र संघको सदस्यता ग्रहण गरी २५ वर्ष पूरा भएका ९५ वटा फर्मका आदरणीय सदस्य महानुभावहरूलाई सम्मान गरी सम्मानपत्र प्रदान गरिएको थियो भने छात्रवृत्ति पुरस्कार, मुद्दिता सेवा गृहलाई जिन्सी सामानसमेत प्रदान गरिएको छ ।