किरण आचार्य
मंगलबार, चैत्र ५, २०७५
529

आउँदो शुक्रबारदेखि राजधानीमा एउटै थलोमा ४५० जातका फूलको अवलोकन गर्न पाइने भएको छ । यही चैत ८ देखि १० गतेसम्म भृकुटीमण्डपमा चल्ने २२ औं ‘फ्लोरा एक्पो २०७५’ मा स्वदेशी तथा विदेशी फूलहरूको प्रदर्शन गरिने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी देशको विभिन्न उत्पादन भएको पुष्प तथा पुष्पजन्य बस्तुहरूको प्रवद्र्धन, विस्तार, नयाँ प्रविधि अनुसन्धानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार तथा जनचेतना जगाउनेको उद्देश्यले मेलाको आयोजना गर्न लागिएको जानकारी गराइयो । प्रदेश सरकार, प्रदेश नं. ३, भूमि व्यवस्था कृषि तथा सहकारी) मन्त्रालय, कृषि ज्ञान केन्द्र ललितपुरसँगको सहकार्यमा मेला आयोजना गर्न लागिएको फ्यानका उपाध्यक्ष तथा मेला संयोजक शिवबहादुर खड्काले बताए । तीन दिनसम्म चल्ने मेलाका लागि ८४ वटा स्टल रहनेछन् अफिसिल स्टल १०, प्रतियोगितात्मक प्रदर्शनीका लागि ४, ल्याण्डस्केपिङका लागि ४ र व्यावसायिक स्टलका लागि ६५ स्टल गरी ८४ वटा स्टल रहेन उनले बताए ।

फ्यानले २०५१ सालेदेखि पुष्प मेला आयोजना गर्दै आएको र बर्सेनि अवलोकनकर्ताहरूको आकर्षण बढ्दै गरेको अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । “हामीले २०५१ सालमा पाँच दिनसम्म मेला गर्दा ८–१० वटा स्टल, २ लाखको कारोबारमा सीमित हुन परेको थियो,” उनले भने, “उपभोक्ताहरूको आकर्षण बढ्दै जाँदा अहिले ८४ वटा स्टल, तीन दिनमै ६० लाखको कारोबार र ५० लाख अवलोकनकर्ता पुगेको अवस्था छ ।” मुलुकभर व्यावसायिक पुष्प खेतिको प्रवद्र्धनमा मेलाले महत्पूर्ण भूमिका खेलेको उनले बताए । कसजुले स्वदेशमै रोजगारी सिर्जना र आर्थिक विकासमा टेवा पु¥याउने आफूहरू सक्रिय रहेको बताए ।
फूलको अवलोकन तथा किनबेच हुने मेलामा एक्स्पोमा मौसमी फूल, आलंकारिक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बिउ–विजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, सूक्ष्म तथा थोपा सिँचाइ प्रविधि, आधुनिक खेती प्रविधि र जैविक विषादीका प्रदर्शनी तथा बिक्री कक्ष रहने व्यवस्था गरिएको आयोजकले जनाएका छन् ।
नेपालभर ४३ जिल्लामा फैलिएको व्यावसायिक पुष्प खेतीमा ६ सय ९७ फार्म रहेको फ्यानको तथ्यांक छ । करिब १५३ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको र ४३ हजार ५ सयभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आश्रित तथा रोजगार छन् । आर्थिक वर्ष ०७४÷७५ मा २ अर्व २५.२४ करोडभन्दा बढीको कारोबार भएको थियो भने २.३७ करोड बराबरको फुल निर्यात गरिएको थियो । सोही वर्ष ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात भएकोे छ । पुष्प व्यवसायको बार्षिक वृद्धिदर १० देखि १५ प्रतिशत छ ।