दीननाथ बराल
सोमवार, चैत्र ४, २०७५
700

पोखरा क्षेत्रीय अन्तर्राट्रिय विमानस्थलको करिब ३० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । पोखरा विमानस्थल निर्माणको हाल करिब ३० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनका प्रमुख विनेश मुनाकर्मीले बताए ।
उनका अनुसार असार मसान्तभित्र ३५ प्रतिशत निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिए पनि उक्त समय सीमाभित्र समयले साथ दिएमा ४० प्रतिशत निर्माण कार्य सम्पन्न गर्न सकिन्छ । विमानस्थलको निर्माण कार्य सुरु भएको करिब १५ महिनामा एप्रोन पूरा भएको उनले बताए । त्यसैगरी उक्त परियोजनामा १४ वटा भवन निर्माण हुने भए पनि हालसम्म ५ वटा भवन निर्माण सम्पन्न भएको आयोजना प्रमुख मुनाकर्मीले बताए । उनका अनुसार ह्याङगर, वेष्ट ट्रान्सफर, सिवेज स्टेसन, सेन्ट्रल वस स्टेसन र स्पेसल भिएकल ग्यारेज निर्माण भएका हुन् । अन्य भवन निर्माणको क्रम जारी रहेको बताए ।

विमानस्थलमा माटो कटानतर्फ ७० प्रतिशत, रनवे मिलाउने काम ७० प्रतिशत सकिएको उनले बताए । रनवेको काम अब करिब एक महिनाभित्र सकिने भएको आयोजना प्रमुख मुनाकर्मीले बताए । सन् २०१९ भित्रमा उक्त परियोजानको ६० प्रतिशत काम सक्ने गरी हाल दैनिक ४ सय ५० जनाले काम गर्दै आएको आयोजनका प्रमुख मुनाकर्मीले बताए । उक्त परियोजनामा काम गर्ने अधिकांश चाइनिजहरु रहेका छन् । २५ देखि ३० प्रतिशत बाँकी काम भने अन्तिम ६ महिनाभित्र हुने भएको उनले बताए । सन् २०२० मा मात्र ४० प्रतिशत काम बाँकी रहने भएको आयोजनका प्रमुख मुनाकर्मीको भनाइ छ ।
जग्गाको विषयमा अझै पनि ५ प्रतिशत मुआब्जा लिन नआएको उनले बताए । ९५ प्रतिशत जग्गा अधिग्रहण गर्ने काम सकिएको आयोजना प्रमुख मुनाकर्मीले बताए । केही विदेश भएको त केहिले मुआब्जा नै लिन नआएकोले गर्दा केहीको मुआब्जा बाँकी रहेको उनले जनाए । रनवेको छेउछाउमा भने माटो भर्ने काम भइरहेको उनले जनाए । २ हजार ५ सय रनवे हुने भएको हो ।
जहाज वे देखाउनको लागि दक्षिणतर्फ ६० रोपनी जग्गा आवश्यक भएको आयोजनका प्रमुख मुनाकर्मीले बताए । दीर्घकालीन सोचका आधारमा अन्तर्राष्ट्रिय स्तरकै विमानस्थल निर्माणको लागि ह्याङगर सहितको संरचनाको लागि केही जग्गा आवश्यक हुने उनको भनाइ छ । इन्दन डिपोको लागि थप ३० रोपनी जग्गा आवश्यक भएको उनले बताए । रिठ्ठेपानीको डाँडा कटानको समेत तयारी भएको आयोजना प्रमुख मुनाकर्मीले बताए । स्थानीय सरोकार निकायसँग समन्वय गरी २४ मिटर डाँडा कटान गनिने भएको उनले जनाए । विमान उडानमा असर गर्ने भएकाले उक्त डाँडा कटान हुने भएको हो ।
पोखरा विमानस्थलको रिङरोडका लागि १० किलोमिटर सडक निर्माण गर्ने बताए । हाल ट्रयाक निर्माण गरेकाले आगामी एक वर्षभित्र रिङरोड बनाउने उनले जनाए । कुनै बाँदा अड्चन नआएको खण्ठमा आफुहरुले निर्धारित समयमै निर्माण गर्ने उनको भनाइ छ । विमानस्थलको पानीलाई व्यवस्थापनका लागि अस्थायी ड्रेनबाटै व्यवस्थापन गर्ने आयोजनका प्रमुख मुनाकर्मीले बताए । क्षति न्यूनीकरणको लागि ठाउँ–ठाउँमा क्रस ड्रेन निर्माण गरेको उनको भनाइ थियो ।
पोखरा विमानस्थल करिब २२ अर्बको लगानीमा सन् २०२१ जुलाई १० भित्र सकिने गरी चाइनिज कम्पनीले हाल निर्माण कार्यलाई तीव्र पारेको छ । पोखरा विमानस्थल करिब ३७ सय रोपनी क्षेत्रफलमा विमानस्थल निर्माण सुरु भएको हो । अर्थ मन्त्रालयसँग सहायक ऋण सम्झौता भएसँगै २०१७ को जुलाई ११ (२०७४ असार २७ गते)बाट निर्माण कार्य सुरु भएको हो । ५ प्रतिशत व्याजदरमा २० वर्षको अवधिमा २६ किस्ता तिर्ने गरी ऋण सम्झौता भएको थियो । सुरुको ७ वर्ष भने (ग्रोस अवधी) कुनै किस्ता तिर्न पर्दैन भने त्यस पछि १३ वर्षसम्म ६-६ महिनामा किस्ता तिर्नुपर्ने हुन्छ ।
चाईनिज सीएएमसी कम्पनीका जनसम्पर्क अधिकृत कृष्णप्रसाद चापागाईंले नेपाल सरकारले तोकेको समय सीमाभन्दा २-४ महिनाअघि उक्त योजना सक्ने गरी निर्माण कार्य तीव्र पारिएको दाबी गरे । सबै तहका सरकार, स्थानीय र सरोकारवाला निकायको यसै गरी साथ र सहयोग पाएको खण्डमा आफूहरुले सन् २०२० भित्रै उक्त परियोजना सक्ने योजना रहेको उनले बताए ।