कारोबार संवाददाता
शुक्रवार, श्रावण ४, २०७५
1050

नेपाल इन्भेस्टमेन्ट बैंकले युरोमनी एक्सिलेन्स–उत्कृष्ट बैंक नेपाल २०१८ अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । प्रतिष्ठित अंगे्रजी आर्थिक मासिक पत्रिका युरोमनीले बुधबार हङकङमा एसियाका ५ सय बढी विशिष्ट पाहुना सहभागी एक भव्य समारोहबीच बैंकले प्राप्त गरेको पुरस्कार बैंकका निर्देशक भुवनेश्वरप्रसाद शाहलाई प्रदान गरेको छ । नेपाल इन्भेस्टमेन्ट बैंकले यो अवार्ड पहिलो पटक प्राप्त गरेको हो ।
सन् १९६९ मा पहिलो पटक प्रकाशित युरोमनी म्यागजिनका सेयर होल्डरहरूले सुरु गरेको यो पुरस्कार, संस्थाको सेवा, सुविधा तथा वित्तिय अवस्थाकाबारे विस्तृतमा अध्ययन तथा अनुसन्धान गरेपछि मात्र प्रदान गरिन्छ । यस वर्ष यसमा १५ सयभन्दा बढी वित्तिय संस्थाहरूले राष्ट्रिय, क्षेत्रीय तथा विश्वव्यापी रूपमा सहभागिता जनाएका थिए ।

८ लाख ७० हजारभन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको हाल ७७ वटा शाखा तथा १०४ वटा एटीएम छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ५७ वटा शाखारहित बैंकिङ सुविधाका साथै बैंकको सञ्जालमा ७ सय ९० बढी भिसा तथा एनपीएन सदस्य बैंकका एटीएम छ ।
पाँच पटकसम्म बैंक अफ द इयर प्राप्त गरिसकेको बैंकले आफ्नो सञ्चालन कालको ३२ वर्ष पूरा गरी उत्कृष्ट सेवा विस्तार, ग्राहकसेवामा नवीनता तथा शेयरधनीहरूसँगको सम्बन्ध सुदृढ गर्दै लगेको छ । नेपाल इन्भेस्टमेन्ट बैंकले अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी (आईसीआरए) नेपालबाट ए प्लसको मान्यता प्राप्त गरेको छ ।