कारोबार संवाददाता
बिहिवार, श्रावण ३, २०७५
871

सानिमा बैंक लिमिटेड र सीबीएल मनी ट्रान्सफरबीच मलेसिया—नेपाल रेमिटयान्स सेवा सम्झौता भई सञ्चालनमा आएको छ । उक्त सम्झौताअन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवा सानिमा एक्सप्रेसमार्फत मलेसियाबाट पठाएको रकम नेपालभरि ८ हजारभन्दा बढी आधिकारिक प्रतिनिधिमार्फत भुक्तानी लिन सकिनेछ । मलेसियाबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खाता वा कुनै पनि बैंकमा भएको खातामा सजिलै जम्मा गर्न सकिनेछ ।
उक्त सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल र सीबीएल मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सैदुर रहमान फराजीले हस्ताक्षर गरेका हुन् । आन्तरिक रेमिटेन्स सेवा साथै सानिमा एक्सप्रेसले यूएई, मलेसिया, कतार, यूके, कोरियालगायत विश्वभरिबाट रेमिटेन्स सेवा दिँदै आइरहेको छ । हाल, सानिमा बंैकको सातवटै प्रदेशमा ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ वटा एटीएम छन् ।