कारोबार संवाददाता
सोमवार, असार २९, २०७७
1101

दोलखाका व्यवसायीहरुले व्यवसाय नै नचलेका बेला मानसिक तनाब बढेको गुनासो गरका छन् । ३ महिनाभन्दा बढीको लकडाउनका कारण व्यवसाय सञ्चालन हुन नसकेको अवस्थमा बैंक तथा वित्तीय संस्थाको लगातारको फोन र एसएमएसले टाउको दुःखाई भएको उनीहरुको गुनासो छ । “यस्तो अवस्थामा त कतिले आत्मा हत्या नै गर्नु पर्ने अवस्था आए यसको दोष कस्ले लिने ?” दोलखा उद्योग वाणिज्य संघका सचिव विमल श्रेष्ठले भने ।
दोलखा उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघले चरिकोटमा संयुक्त रुपमा ¥याली नै गरेर व्यवसाय प्रवद्र्धनमा सहयोग गर्न बैंक तथा वित्तीय संस्थाको ध्यानाकार्षण गराए । “व्यवसाय विस्तार गर्न हामीले पनि बैंकबाटै ऋण लिएका छौं, ऋण नतिर्दा हामीलाई नै असर गर्ने हो” दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र श्रेष्ठले भने, “तर यस्तो अप्ठ्यारो परेका बेला किस्तालाई पछि सारेर सहयोग गर्नुस् र पुर्न कर्जाको व्यवस्था गर्नुस भनेका हौं ।”

लकडाउनका कारण राष्ट्रबैंकले व्याज छुट जस्ता सुविधा पनि ल्याएपनि आफूहरुले सुविधा नपाएकाले त्यसलाई कार्यान्वयन गर्न ध्यानाकार्षण गराएको अध्यक्ष श्रेष्ठले बताए । सरकारले घरभाडा छुट दिएपनि कतिपय घरबेटीले घरभाडामा महिना मर्न नपाउँदै ताकेता गर्दा पर्यटन क्षेत्रका व्यवसायीहरु व्यवसाय नै छाडेर विस्थापित हुनु परेको संघका महासचिव हेमराज रिमालले बताए ।
लकडाउनले प्रत्यक्ष रुपमा पर्यटन तथा सेवाका व्यवसायलाई सबैभन्दा बढी असर गरेको छ । सरकारले निर्माण क्षेत्र सहज गरेको भनेपनि ढुवानीमा ठाउँठाउँमा हुने अवरोध, दक्ष मजदुर घर गएर फर्कन नसक्ने अवस्था र मूल्य वृद्धिले जस्ता कारणले निर्माणका काम प्रत्यक्ष रुपमा असर परेको निर्माण व्यवसायी संघ दोलखाका महासचिव राजेश थापाले बताए । सरकारले आउँदो मौद्रिक नीतिमा उद्योग, व्यवसाय र निर्माण क्षेत्रलाई सम्बोधन गरी राहत प्याकेज ल्याउन समेत उनले माग गरे ।