कारोबार संवाददाता
सोमवार, असार २२, २०७७
650

पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरी मेगा बैंक नेपाल लिमिटेडले आइतबारबाट विधिवत रुपमा संयुक्त कारोबार शुभारम्भ गरेको छ । आइतबार पोखरामा एक समारोहकाबीच गण्डकी विकास बैंकलाई मेगा बैंकमा प्राप्तिको घोषणा गरियो ।
कार्यक्रममा गण्डकी प्रदेश प्रमुख अमीक शेरचनले ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नारालाई सार्थक बनाउँदै मध्यमवर्गीय नेपालीको बैंक बन्न मेगा बैंकलाई सुझाव दिए । छोटो समयमै मेगा बैंक देशकै अग्रणी बनेकोमा आफूलाई खुसी लागेको भन्दै उनले आगामी दिनमा पनि व्यावसायिक सफलताका लागि शुभकामना दिए ।

कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य बिन्दुकुमार थापा र पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जिसीले गण्डकी विकास बैंकलाई प्राप्ति गरेकोमा मेगा बैंकलाई बधाई तथा शुभकामना दिए । समारोहमा साबिक गण्डकी विकास बैंक सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुलाई बैंकको श्रीवृद्धिका लागि पु¥याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार शुभारम्भ गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताए ।
पोखरामा केन्द्रीय कार्यालय रहेको र ९५ वटा शाखा कार्यालय रहेको गण्डकी विकास बैंक मेगा परिवारमा समाहित भएको घोषणा गर्दै उनले पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा वृहत वृद्धि भई मेगा बैंक देशकै ठूलो मध्येको एक ‘क’ वर्गको वाणिज्य बैंकको रुपमा स्थापित भएको बताए । अध्यक्ष शाहका अनुसार, मेगा बैंक र गण्डकी विकास बैंकको सेयर आदान प्रदान अनुपात १ः१ रहेको छ ।