कारोबार संवाददाता
आइतवार, असार २१, २०७७
696

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले कोरोना महामारीका कारण बढ्दो बेरोजगारी समस्यालाई सम्बोधन गर्ने क्षेत्र सहकारी भएको बताइन् । राष्ट्रिय सहकारी महासंघले ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदै मन्त्री अर्यालले भनिन्, “यो विषयम परिस्थितिमा सहकारीले सिर्जना गर्न सक्ने रोजगारीको अवसरका विषयमा सरकारलाई डाटा दिनुस् । सरकारले सहकारीलाई सबै क्षेत्रमा प्रवेश गर्न आवश्यक पर्ने कानुनमा संशोधन गर्न तयार छ ।”
मन्त्री अर्यालले उत्पादन र स्वरोजगार सिर्जना गर्न सक्ने क्षेत्रमा सहकारी प्राथमिकतामा रहेको बताइन् । उनले सहकारी स्वनियमानमा अगाडि बढ्नुपर्ने बताउँदै अर्थतन्त्रमा देखिएका गम्भिर चुनौतीको सामना गर्न, नेपालको अर्थतन्त्रलाई मजबुद बनाउन, घर घरमा समृद्ध ल्याउनका सहकारीको पैसा उत्पादन क्षेत्रमा परिचालन गर्ने, स्थानीय स्रोत साधानलाई सहकारीमार्फत भावी पुस्तालाई समेत जोगाउन गरी सञ्चालन गर्नुपर्ने बताइन्न् ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि पनि हरेक क्षेत्रमा सहकारीको उपस्थितिको खाँचो रहेको बताइन् । “अब एक क्षेत्रमा मात्र सिमित भएर हुँदैन । जनस्तरससम्म पुग्ने, प्रत्येक परिवारका सदस्यम्म पुग्ने सहकारी सबै क्षेत्रमा जानुपर्छ । त्यसका लागि कानुनी अड्चन फुकाइन्छ” उनले भनिन् ।
जुलाई महिनाको पहिलो शनिबार विश्वभरी नै अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । यस पटक जलवायु कार्यका लागि सहकारी भन्ने नाराका साथ दिवस मनाइएको हो ।
उत्कृष्ट सहकारी पुरस्कार वितरण
९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २६ औं संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्रिय सहकारी महासंघ दिवसको अवसरमा सहकारी संघ÷संस्था राष्ट्रिय सहकारी पुरस्कारबाट पुरस्कृत भएका छन् । केन्द्रीय सहकारी संघहरुमध्येबाट नेपाल बचत तथा ऋण केन्द्रीय संघ, नेफ्स्कून पुरस्कृत भयो । सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले उत्कृष्ट सहकारी पुरस्कार संघका अध्यक्ष परितोष पौडेललाई प्रदान गरिन् । त्यसैगरी जिल्लास्तरीय संघहरुमध्येबाट जिल्ला सहकारी संघ बाँके पुरस्कृत भएको छ ।
प्रदेशगत आधारबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७६ बाट विभिन्न ५ प्रदेशका सहकारी संस्थालाई सम्मान गरिएको छ । जसमा प्रदेश २ बाट साना किसान कृषि सहकारी संस्था, रौतहट, बागमती प्रदेशबाट चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था, काठमाडौं, गण्डकी प्रदेशबाट पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था, कास्की, प्रदेश ५ बाट जनउत्थान साकोस, रुपन्देही र कर्णाली प्रदेशबाट हरियो हिरा कृषि तथा जडीबुटी विकास सहकारी संस्था, सुर्खेत पुरस्कृत भए ।
उक्त अवसरमा सदस्य संघहरुलाई प्राविधिक सहयोग गर्ने उद्देश्यले मन्त्रालयको सहयोगमा १० वटा संघलाई कम्प्युटर तथा प्रिन्टर प्रदान गरेको छ ।
जसमा मोरङको जिल्ला कृषि सहकारी संघ, जिल्ला सहकारी संघ तेह्रथुम, सप्तरी र सिन्धुलीको जिल्ला बचत तथा ऋण सहकारी संघ रहेका छन् । त्यसैगरी काठमाडौंको जिल्ला बहुउद्देश्यीय सहकारी संघ, ललितपुरका जिल्ला बचत तथा ऋण सहकारी संघ, केन्द्रीय दुग्ध सहकारी संघ रहेका छन् । त्यसैगरी उपकरण सहयोग प्राप्त गर्नेमा स्याङजाको जिल्ला बचत तथा ऋण सहकारी संघ, पाल्पाको जिल्ला सहकारी संघ र दार्चुलाको जिल्ला सहकारी संघ रहेका छन् ।
यसैगरी महासंघले नमुना सहकारी पसल सञ्चालन गर्नका लागि शुभलक्ष्मी सहकारी संस्था गौराहदह झापालाई १५ लाख रुपैयाँ अनुदान समेत प्रदान गरेको छ ।