कारोबार संवाददाता
आइतवार, असार २१, २०७७
698

कोरोना महामारीले अर्थतन्त्र थलिएको बेला विश्व बैंकले नेपाललाई निम्नमध्यम आय भएको मुलुकमा सूचीकृत गरेको छ । विश्व बैंकले दुई दिनअघि सार्वजनिक गरेको तथ्यांकले नेपाल सन् २०१९ मा निम्नबाट निम्नमध्यम आय भएको मुलुकमा स्तरोन्नति भएको हो ।
निम्नमध्यम आय मुलुुकको सूचीमा प्रतिव्यक्ति १०३६ देखि ४ हजार ४५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आम्दानी भएका मुलुकहरू पर्दछन् । बैकका अनुसार नेपालकोे प्रतिव्यक्ति आम्दानी १ हजार ९० अमेरिकी डलर पुगेसँगै निम्न मध्यम आय भएको मुुलुकमा नेपाल स्तरोन्नति भएको हो ।

तर, सरकारी सञ्चारमाध्यम रासससँगको अन्तर्वार्तामा अर्थमन्त्री डा युवराज खतिवडाले अहिले मुलुक मध्यमआयमा स्तरोन्नति भयो भनेर खुशीयाली मनाइहाल्ने बेला नभएको बताएका छन् । ‘हामीले प्रतिव्यक्ति आय र मानव विकास सूचकांकमा प्रगति गरे पनि आर्थिक जोखिम कायमै छ,” उनले भने, “सन् २०२२ मा हामी विकासशील राष्ट्रको सूचीमा जाने लक्ष्य हासिलको निकटमा छौँ ।”
अर्थमन्त्रीले कोरोना संकट नआएको भए त यही वर्षमा हामी त्यसको हाराहारीमा पुग्ने दावी गर्दै अब विश्व बैंकले आफ्नो सूचकका आधारमा विश्लेषण गरेर प्रतिवेदन ल्याएको भए पनि नेपाल अति कमविकसित मुलुककै सूचीमा रहको पनि बताए । तथ्यांकको अभिलेख राख्ने आधिकारीक निकाय केन्द्रीय तथ्यांक विभागले दुई महिनाअघि सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवमा नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ पुगेको छ । दुई महिनापछि विश्व बैंकले नेपालीको प्रतिव्यक्ति आयमा थप ५ डलर वृद्धि भएको जनाउँ दिदै नेपाल निम्न मध्यम आयको मुलुमा सूचीकृत भएको बताएको हो । गत वर्ष नेपालको प्रतिव्यक्ति आय ९७० अमेरिकी डलर कायम गरिएको थियो ।
विश्व बैंकले दक्षिण एशियामा माल्दिभ्सको प्रतिव्यक्ति आय सबैभन्दा उच्च रहेको जानकारी दिएको छ । सन् २०१९ मा माल्दिभ्सको प्रतिव्यक्ति आम्दानी ९ हजार ६५० अमेरिकी डलर छ । श्रीलंका पनि सोही आय हुने मुलुकमा रहे पनि यस वर्ष उसको प्रतिव्यक्ति आय खस्किएर निम्नमध्यम आय भएको मुलुकमा झरेको छ । गत वर्ष श्रीलंकाको प्रतिव्यक्ति आय ४ हजार ६० अमेरिकी डलर थियो, यो वर्ष ४ हजार २० डलरमा खुम्चिएको छ । दक्षिण एशियाली मुलुकमध्ये अब अफगानिस्तान मात्रै न्यून आयवर्गमा छ, जसको प्रतिव्यक्ति आय ५४० अमेरिकी डलरमात्रै छ । विश्व बैंकले आयस्तरलाई ४ भागमा विभाजन गरेको छ । जसअनुसार उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न वर्गमा वर्गीकरण गर्दै आएको छ ।
१ हजार ३५ डलरसम्म प्रतिव्यक्ति आय भएका मुलुकहरू न्यून वर्गमा पर्छन् । सोभन्दा बढी अर्थात ४ हजार ४५ अमेरिकी डलरसम्म आम्दानी हुनेलाई निम्नमध्यम, ४ हजार ४६ देखि १२ हजार ३३५ डलरसम्म प्रतिव्यक्ति आय हुनेलाई उच्च मध्यम वर्ग र त्यो भन्दा बढी आय हुनेलाई उच्च आय वर्गमा राखिएको छ । सरकारले आगामी सन् २०३० मा नेपाललाई मध्य आम्दानी गर्ने मुलुक बनाउने योजना लिएको छ ।

नेपालको जनसंख्या ३ करोड नाघ्यो

नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको घडीमा शनिबार बिहान सम्म करिब ३ करोड १० हजार अर्थात ३ करोड ९ हजार ९ सय ८६ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ को आधारमा निर्धारण गरिएको घडीअनुसार यो तथ्यांक निर्धारण गरिएको हो । हरेक १० वर्षमा मुलुकको कुल जनसंख्या सार्वजनिक गर्दै आएको विभागले २०७८ सम्मको संख्या पूर्वानुमान गर्दै हरेक दिन एक हजारदेखि एक हजार एक सयका दरले जनसंख्या बढ्ने सुत्रका आधारमा अहिलेको कुल जनसंख्या तीन करोड नाघेको विभागले जनाएको छ । विभागले विश्वमै नै प्रयोग हुने सूत्रका आधारमा मानिसहरूको बसाईं सराई, जन्मदर, मृत्युदरका आधारमा जनसख्याको प्रारम्भिक विवरण सार्वजनिक गर्दैै आएको छ । सोही सूत्रका आधारमा विभागले हरेक वर्षको जुन २२ लाई आधार बनाएर संख्या निर्धारण गर्ने गर्दछ ।