कारोबार संवाददाता
बिहिवार, असार १८, २०७७
454

वीरगन्ज- एभरेष्ट बैंक लिमिटेड र कर्पोरेट डेभेलपमेण्ट बैंकले वीरगन्ज महानगरपालिकाको कोरोना कोषमा सहयोग हस्तान्तरण गरेको छ । कोरोना भाइरस परीक्षणका पीसीआर मेसिन खरिद, भीटीएम, रीएजेण्ट किट तथा अस्पताल व्यावस्थापनका लागि वीरगन्ज महानगरपालिकाले सहयोगको अपिल गरे अनुसार वीरगन्जमा सेवा दिईरहेका एभरेष्ट बैंक लिमिटेड र कर्पोरेट डेभेलपमेण्ट बैंकले बुधबार रकम हस्तान्तरण गरेका हुन् ।
बैंकका प्रतिनिधिहरुले महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीलाई कार्यकक्षमै भेटेर एभरेष्ट बैंकको तर्फबाट १ लाख पाँच हजार र कर्पोरेट डेभलपमेण्ट बैंकको तर्फबाट २ लाख नगदको चेक हस्तान्तरण गरेका छन् ।

यसअघि महानगरपालिकाको कोरोना कोषमा विभिन्न संघ संस्था र व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् । वीरगन्जका उद्योग व्यवसायीहरुले मेशिन नै खरिद गरेर दिएका छन् । अहिलेसम्म महानगरपालिकाको कोरोना कोषमा बुधबारसम्ममा २ करोड १५ लाख ७३ हजार रुपैयाँ जम्मा भइसकेको महानगरपालिकाका अधिकृत विकास मिश्रले जानकारी दिए ।
स्थानीय तहबाट आफैले पीसीआर मेशिन खरिद गरेर कोरोना परीक्षण गरेको नेपालकै पहिलो एक मात्र महानगरपालिका वीरगन्ज हो । अहिले महानगरपालिकाले ५० वेडको कोभिड अस्थायी विशेष अस्पताल सञ्चालन गरिरहेको छ भने २०० वेडको छुट्टै आईलोलेशन समेत तयारी गरेर राखेको छ । पीसीआर मेशिन जडान भई परीक्षण पनि सुरु भएको र पर्सामा एक घर एक पीसीआर टेष्टको अभियान सुरु गरेर ५० हजार भन्दा बढीको पीसीआर परीक्षण गरिने पनि नगर प्रमुख सरावगीले बताए ।