दीननाथ बराल
बिहिवार, असार १८, २०७७
813

पोखराका यातायात व्यवसायीले सवारीसाधनको साँचो बैंक तथा वित्तीय संस्थालाई बुझाउने चेतावनी दिएका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले न्यूनतम ६ महिनाको बैंक तथा वित्तीय संस्थाहरूको किस्ता भुक्तानी गर्ने समय अवधि थप नगरेमा आफ्ना सवारी साधनका कागजातसहित चाबी बैंक तथा वित्तीय संस्थालाई बुझाउने चेतावनी दिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम ६ महिनाको किस्ता भुक्तानी गर्ने समय अवधि थप नगरेको खण्डमा आफूहरू बाध्य भएर कम्पनीमा आवद्ध भएका सवारी साधनका चाबीसहित कागजात बुझाउने भएको कम्पनीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो । कम्पनीले कोरोना भाइरसको कारण देशमा लकडाउन हुदा आफ्नो व्यवसाय धेरै प्रभावित भएको अवस्थामा राज्यबाट समेत राहत प्याकेज आउन नसकेकोले गर्दा अब विकल्प नभएकाले उक्त निर्णय गर्न बाध्य भएको कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बताए ।
असार २० भित्र आफुहरूको माग सम्बोधन नभएको खण्डमा असार २१ कम्पनीमा सवारी साधनका कागजातसहित चाबी जम्मा गर्न आह्वान गरी असार २२ गते जम्मा भएका चाबी क्रमिक रुपमा बुझाउँदै जाने अध्यक्ष केसीले जानकारी दिए । उनले भने, “देशमा लकडाउन हुँदा धेरै क्षेत्रका व्यवसायीहरूलाई राज्यले केही न केही राहत प्याकेजको घोषणा ग¥यो, तर हाम्रो यातायात क्षेत्रमा कुनै सम्बोधन भएन, हामीलाई बैंक तथा वित्तीय संस्थाबाट किस्ता र ब्याज तिर्नको लागि ताकेता गर्दै मानसिक रुपमा तनाव दिन थालेका छन् ।” यातायात व्यवसायी महासंघले पटकपटक पहल गर्दा माग सम्बोधन नगरेकोले अहिलेको अवस्थामा यातायात व्यवसायीहरूले किस्ता तथा बैंकको व्याज तिर्न न सक्ने अवस्थामा पुगेको अध्यक्ष केसीको भनाइ छ । हाल घर ग्यारेज गरी राखिएका सवारी साधनहरू अधिकांश तत्काल मर्मत संहारको लागि न्यूनतम एक लाख खर्च आउने अवस्था छ । आफ्नो कम्पनीमा करिब १ हजार ४ सय वटा सवारी साधन भएको र यसमा ५ अर्ब ६० करोड लगानी भएको उनले जनाए । यातायात क्षेत्रमा करिब ७० प्रतिशत जसो बैंक तथा विक्तिय संस्थाले लगानी गरेको बाँकी ३० प्रतिशत भने यातायात व्यवसायीको रहेको उनले बताए । ६० प्रतिशतभन्दा बढी स्वरोजगार मजदुरहरू रहेको कम्पनीको दाबी छ ।