कारोबार संवाददाता
शुक्रवार, जेठ २३, २०७७
716

राष्ट्रिय सहकारी महासंघले स्थानीय र प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्न सहकारी संघ-संस्थाहरूलाई आग्रह गरेका छन् । प्रदेश नं. १ मा रहेका सदस्य संघहरूसँग कोभिड १९ को असर र भावी नीति तथा कार्यक्रमका विषयमा अन्तक्र्रिया गर्दै महासंघ अध्यक्ष मीनराज कँडेलले जिल्ला संघहरूको नेतृत्वमा स्थानीय र प्रदेश सरकारसँग सहयोग, सहन्वय र सहकार्य गर्न आग्रह गरेका हुन् । ‘स्थानीय उत्पादनको प्रशोधन, भण्डारण र बजारीकरणका लागि स्थानीय सरकारसँग मिलेर सहकारी संघ-संस्थाले काम गर्नुपर्छ ।
“कतिपय पालिका र प्रदेशमा काम सुरु भइसकेको छ । यसलाई प्रभावकारी रुपमा लैजानका लागि प्रदेश र पालिकामा बन्ने नीति, कार्यक्रम तथा बजेटमा सहकारीलाई प्राथमिकता दिन लबिङ गर्नुपर्छ, त्यसमा जिल्ला संघहरूको महत्वपूर्ण भूमिका रहन्छ,” उनले भने । अध्यक्ष कँडेलले तरलता व्यवस्थापनका लागि समेत प्रदेश र स्थानीय सरकारसँग लबिङ गर्नुपर्ने धारणा राख्दै सहकारीको पुँजी अभियानकै नेटवर्कमा राख्नका लागि समेत अनुरोध गरे । सहकारी अभियान सरकारको प्रतिस्पर्धी नभएर परिपुरक रहेकाले सबै तहका सरकारसँग समन्वय र सहकार्य गर्न आग्रह गरे । जिल्लास्तरीय संघहरूले समेत आफ्ना मातहतका संघ तथा संस्थाहरूको नियमित अनुमगन गरी संस्थागत सुशासनलाई बलियो बनाउनु र एकीकरण र स्वनियममा समेत जोड दिएको छ ।

छलफलमा प्रदेश नं. १ का सहकारी संघ-संस्थाले स्थानीय र प्रदेश सरकारलाई गरि करिब ५ करोड रुपैयाँ बराबरको सहयोग गरिसकेका जानकारी दिइयो । महासंघका निवर्तमान अध्यक्ष केशव बडालले सहकारी संघ-संस्थाले स्थानीय तहसँग सघन सहकार्य गरेर अघि बढ्नुपर्ने बताउँदै झापा र मोरङ जिल्लाले उदाहरणीय काम गरेको समेत बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारी–सहकारीबीचको व्यवसायलाई प्रवद्र्धन गर्नुपर्ने विषय महत्वपूर्ण रहेको बताउँदै तरलता व्यवस्थापनका लागि जिल्ला संघहरूको नेतृत्वमा जिल्ला तहमा भूमिका खेल्नुपर्ने बताइन् । उनले बीउ मलको अभाव, बजारीकरणको व्यवस्थापन लगायत महासंघका लागि आएका सुझावाहरूलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
महासंघका उपाध्यक्ष रमेश पोखरेलले मोरङमा १८ करोड लगानीमा बनेको भौतिक पुर्वाधारलाई प्रदेश सरकारद्वारा जिल्ला सहकारी संघलाई तरकारी तथा फलफूलको बजारीकरणका लागि प्रयोग गर्न दिएपछि नमुनाका रुपमा काम संचालन भएको र यसबाट प्रदेश सरकारलाई सहकारीले महत्वपूर्ण कार्य गर्न सक्छ भन्ने विश्वास दिलाउन सफल भएको जानकारी दिए । सञ्चालक गणेश ढकालले झापामा सहकारीबाट छुट्टै पीसीआर बनाउनका लागि सहकारीका नेतृत्वमा कार्य भइरहेको समेत जानकारी दिए । उनले सरकार, निजी र सहकारीबीचको सझेदारीमा उद्योग संचालन गर्नुपर्ने धारणा राखे । महासंघका संचालक शिव डाँगी, लेखा सुपरिवेक्षण समितिका सदस्य सोम श्रेष्ठले समेत सहकारी एकीकरणमा प्रोत्साहन गर्नुपर्ने धारणा राखेका थिए ।
छलफलमा प्रदेश १ का १४ जिल्लाका ५६ जनाको सहभागिता थियो । सहभागीहरूले उत्पादनका लागि बजारीकरण गर्ने, मल विउ सहज उपलब्ध गराउनका लागि सहजीकरण गरिदिनुपर्ने, सहकारीको तरलता व्यवस्थापन गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।