कारोबार संवाददाता
सोमवार, जेठ १२, २०७७
614

भैरहवा-लुम्बिनी विकास कोषले लुम्बिनी सांस्कृतिक नगरपालिकाको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने गरी १५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
आइतबार लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्ता)ले लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीलाई १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईले बताए । राईले नेपाल सरकारको कोरोना भाइरसविरुद्धको लडाइँमा लुम्बिनी विकास कोष परिवार पनि सहभागी भइरहेकोे जनाउँदै सरकारको आह्वानबमोजिम कोषमा कार्यरत कर्मचारीको तलबबाट नेपाल सरकारले स्थापना गरेकोे कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचार कोषमा २ लाख ८९ हजार ४७८ रुपैयाँ जम्मा गरेको बताए ।

कोषको सामाजिक दायित्वअन्तर्गत विश्व शान्तिका प्रवद्र्धक शाक्यमुनि भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनी वरिपरिका स्थानीय जनताको हितमा कोरोना भाइरसविरुद्धको लडाइँमा सहभागिता जनाउने पवित्र उद्देश्यले लुम्बिनी विकास कोषको आन्तरिक बजेटमार्फत लुम्बिनी साँस्कृतिक नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचार कोषमा १५ लाख रुपैयाँ प्रदान गरिएको कोषका उपाध्यक्ष त्रिपाठीले जनाए ।
कोषले लुम्बिनीका स्थानीय जनसमुदायले कोरोनाका कारण व्यहोर्नु परेको पीडालाई केही कम गर्नका लागि अशक्त, असहाय एवं विपन्न परिवारलाई अत्यावश्यक वस्तु चामल, दाल, नुन, तेल, मास्क, साबुन, स्यानिटाइजर लगायतका सामग्री लुम्बिनी साँस्कृतिक नगरपालिका, स्थानीय जनप्रतिनिधि तथा संघसंस्थासँगको समन्वयमा विभिन्न समयमा वितरण गर्दै आइरहेको छ
साथै कोषले लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रहेको श्रीलंका पिलग्रिम रेस्ट हाउस र लुम्बिनी बौद्ध विश्वविद्यालयले निर्माण गरेको छात्रावास भवनमा लुम्बिनी साँस्कृतिक नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइन स्थापना गर्न समेत कोषले सहकार्य गरेको छ । लुम्बिनी गुरुयोजना क्षेत्र वरिपरि स्थानीय निकायद्वारा स्थापना गरेको २० वटा क्वारेन्टाइन स्थलमा मास्क, पञ्जा, साबुन, पानी तताउने इलेक्ट्रिक जगलगायतका सामग्री सहयोग स्वरुप कोषले उपलब्ध गराएको सदस्य सचिव राईले जानकारी दिए ।
सदस्य सचिव राईले आवश्यक परे लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रहेको कोषको ३ हजार क्षमताको सभा हलसमेत क्वारेन्टाइन स्थापना गर्नका लागि उपलब्ध गराउन सकिने प्रतिबद्धता सम्बन्धित निकायले गरिसकेको र यस संकटको घडीमा जनतालाई मुख्यतः खाद्य सामग्रीको समस्या आइपर्ने हुनाले भविष्यमा आउनसक्ने खाद्य संकटका लागि तयारी अवस्थामा रहन लुम्बिनी विकास कोषले लुम्बिनी साँस्कृतिक नगरपालिका एवं स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका जनताका लागि ‘फुड बैंक’ को अवधारणासमेत तयार गरेको बताएका छन् ।
सो फेड बैंकमार्फत खाद्यान्न नपाएर पीडित भएका अशक्त, असहाय एवं विपन्न परिवारलाई अत्यावश्यक खाद्यान्न उपलब्ध गराइने योजना कोषको छ ।