कारोबार संवाददाता
सोमवार, जेठ १२, २०७७
560

नेपाल सरकारले प्राप्त गर्ने वैदेशिक सहायता झण्डै ९ प्रतिशतले घटेको छ । अर्थ मन्त्रालयको अनुसार चालू आर्थिक वर्षको चैत महिनासम्म विकास साझेदारहरुबाट प्राप्त वैदेशिक सहायता अघिल्लो आर्थिक वर्षको तुलनामा ८.९ प्रतिशतले घटेको हो । विभिन्न विकास साझेदारहरुबाट चालू आर्थिक वर्षको चैत महिनासम्म १ खर्ब १८ अर्ब ८१ करोड बराबरको सहयोग प्राप्त भएको छ । जसमध्ये ऋण सहायता १ खर्ब २ खर्ब ६२ करोड र अनुदान सहायता १६ अर्ब १९ करोड रहेको छ ।
चालू आर्थिक वर्षका पहिलो ९ महिनामा वैदेशिक सहायता प्रतिवद्धतामा ऋण ८६.४ प्रतिशत र अनुदान १३.६ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ । वैदेशिक सहायतामा ऋणको अंश बढेको छ भने अनुदानको घटेको छ । गत आर्थिक वर्षको सोह अवधिमा वैदेशिक सहायतामा ऋण ८७.४१ प्रतिशत र अनुदान १२.५९ प्रतिशत रहेको थियो

चालू वर्षको चैत्र महिनामा सरकारले प्राप्त गरेको ऋणको अंश गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.५ प्रतिशतले घटेर ३३ अर्ब ६६ करोड पुगेको छ भने अनुदानको अंश ५.१ प्रतिशतले घटेर १५ अर्ब ५४ करोड पुगेको छ ।
गत आर्थिक वर्षको सोहि अवधिमा ऋण र अनुदानको अंश क्रमशः ३७ अर्ब ६१ करोड र १६ अर्ब ३८ करोड प्राप्त भएको थियो । यस्तै, चैतसम्म सरकारले तिर्न बाँकी खुद सार्वजनिक ऋण ११ खर्ब ९५ अर्ब ६० करोड पुगेको छ । यसमध्ये आन्तरिक ऋण ४ खर्ब ८१ अर्ब ५२ करोड र वैदशिक ऋण ७ खर्ब १४ अर्ब ७ करोड रहेको छ । यस अवधिमा सरकारले आन्तरिक ऋण तर्फ २६ अर्ब ५५ करोड बराबराको साँवा भुक्तानी र १४ अर्ब ४९ करोड बराबरको व्याज भुक्तानी गरेको छ । त्यसैगरी बाह्य ऋणतर्फ १२ अर्ब ९८ करोड र व्याज २ अर्ब ८० करोड भुक्तानी गरेको छ ।