कारोबार संवाददाता
बुधवार, जेठ ७, २०७७
314

बागलुङ -कोरोना भाइरसको जोखिम कम गर्न बागलुङ बजारमा सञ्चालित सहकारी संस्थाहरुले आलोपालो गरी सेवा प्रवाह गर्ने भएका छन् । जिल्ला सहकारी संघ बागलुङले बजारभित्र खरहेका ६९ भन्दा बढी सहकारीलाई हप्तामा २ दिन सेवा प्रवाह गर्न समय तालिका निर्धारण गरिदिएको छ ।
संघले बागलुङ बजार क्षेत्रका ६९ वटा सहकारीलाई हप्तामा २ दिन सेवा प्रवाह गर्न र सहकारी बैंकसहित ९ वटा सहकारी संघहरुले दैनिक सेवा प्रवाह गर्न निर्देशन जारी गरेको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले बताए । गौतमका अनुसार आइतबार र बुधबार २२, सोमबार र बिहिबार २१ र मंगलबार र शुक्रबार २८ वटा सहकारीले सेवा प्रवाह गर्ने छन् । यस्तै अत्यावश्यक सेवाका लागि मंगलबार र शुक्रबार सेवा प्रवाह गर्न संघले आग्रह गरेको छ ।

राष्ट्रिय सहकारी बैंक, जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ, जिल्ला दुग्ध उत्पादक सहकारी संघ, जिल्ला सूचना तथा सञ्चार सहकारी संघ, जिल्ला बहुउद्देश्यीय सहकारी संघ, जिल्ला फलफूल तथा तरकारी उत्पादक सहकारी संघ, जिल्ला स्वास्थ्य सहकारी संघ र जिल्ला कृषि सहकारी संघ लिमिटेड हप्ताको ६ दिननै खुल्ने छन् । उनले सहकारी संस्थाहरुको समन्वयका लागि सहकारी बैंक र सहकारी संघलाई हप्ताभर नै खुलाउने निर्णय बताए ।
सहकारी संघको निणर्यसँगै सदरमुकाम बागलुङ बजारमा सञ्चालित सहकारी संस्थाहरुले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा प्रवाह गर्नेछन् । यस्तौ जिल्ला सहकारी संघ र सहकारी बैंकले भने १० बजेदेखि ४ बजेसम्म नै सेवा प्रवाह गर्ने छन् । जिल्लास्थित सबै सहकारीहरु एकसाथ खुल्दा भीडभाड हुने र कोरोना संक्रमणको जोखिम बढ्ने देखिएकाले आलोपालो गरेर सहकारीहरु खोल्ने निर्णय गरिएको संघले जनाएको छ ।
यस्तै संघले सहकारीबाट ऋण लिई व्यापार व्यवसाय गर्दै आएका सेयर सदस्यहरुको परिस्थितिका कारण संस्थाको नीति नियम अनुसार ऋणको व्याज भुक्तानी गर्दा कूल व्याज रकमको १० प्रतिशत छुट दिन सहकारीहरुलाई अनुरोध गरेको छ । ऋण लगानीमा आगामी जेठ मसान्तसम्म ऋणको भाका ननाघ्ने व्यवस्था गर्न निर्देशन जारी गरेको छ । संघले सहकारी संस्थाहरुले आफ्नो कार्यक्षेत्र भित्रका स्थानीय तहले सञ्चालन गरेका कोरोना राहत कोषमा संस्थाको अवस्था अनुसार सहयोग गरी जिल्ला सहकारी संघलाई जानकारी गराउन समेत अनुरोध गरेको अध्यक्ष गौतमले बताए ।

त्रिलोचन रिजाल