कारोबार संवाददाता
बुधवार, जेठ ७, २०७७
1177

विश्व्भरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नेपाल राष्ट्र बैंकले पनि मार्गदर्शन बनाएर नै लागू गरेको छ । केन्द्रिय बैंकले बैंकिङ क्षेत्र अत्यावश्यक क्षेत्रभित्र पर्ने भएकाले मार्गदर्शन बनाएर सोही अधारमा सेवा प्रदान गर्ने भएको हो ।
केन्द्रिय बैंकको मार्गदर्शन अनुसार बैंक तथा वित्तीय संस्थाबाट आएका नोटहरुलाई कोरोना संक्रमणरहित बनाउन स्प्रे गर्ने व्यवस्था गरेको छ । बैंक वित्तीय संस्थाबाट केन्द्रीय बैंकले नगद दखिला बुझिलिने सम्बन्धमा पहिलो चरणमा शिलबन्दी बाकस बुझ्ने र त्यसको केहि दिनपछि भाइरसरहित बनाउन डिसइन्फेक्टेड स्प्रे गरेर गणना गरी बुझिलिने व्यवस्था गरेको छ ।

नोटबाट पनि कोरोना संक्रमण हुन सक्ने भन्दै केन्द्रिय बैंकले बाहिरबाट आएका नोटलाई स्वीकार गर्दा भाइरसरहित बनाउने भएको हो । केन्द्रिय बैंकले सेवा प्रदान गर्ने सम्बन्धमा कर्मचारी र सेवाग्राहीलाई कोरोना संक्रमण नहोस् भनेर मार्गदर्शन बनाएर पूर्ण रुपमा पालन गर्ने गरी लागू गरीसकेको छ ।
सो मार्गदर्शन अनुसार सेनिटाइजर, मास्क र पन्जाको अनिवार्य प्रयोग गर्ने तथा एक सय भन्दा धेरै शारिरीक तापक्रम भएका कर्मचारीलाई आइशोलेनमा राख्ने व्यवस्था गरेको छ । सेवा प्रदान गर्दा विभाग, शाखा तथा इकाइले कुल कर्मचारीको एक तिहाइले आलोपालो पद्धतीमा कार्यालय उपस्थित भएर सेवा प्रदान गर्ने व्यवस्था गरेको छ । संकटको समयमा पनि बैंकिङ कार्यालय, मुद्रा व्यवस्थापन विभाग तथा प्रादेशिक कार्यालयबाट गरीने फण्ड ट्रान्सफर, सरकारी कारोबार, चेक भुक्तानी तथा नगद जम्मा गर्ने कार्यलाई निरन्तरता दिने व्यवस्था गरेको छ ।
कार्यालयमा उपस्थित कर्मचारीले मास्क, पन्जा प्रयोग गरे नगरेको तथा सामाजिक दुरी कायम गरे नगरेको सुरक्षा समूहले अनुगमन गर्ने व्यवस्था समेत मार्गदर्शनमा उल्लेख छ । एक शाखा, विभाग तथा इकाइका लागि पास लिएर गएको सेवाग्राहीले अन्य विभाग, शाखा तथा इकाइमा प्रवेश पाउने छैनन् । त्यसका साथै सेवा प्रदान गर्ने क्रममा आएका सेवाग्राहीको विस्तृत जानकारी टिपोट गरेर राख्नु पर्ने व्यवस्था समेत मार्गदर्शनले गरेको छ ।
कार्यालयमा प्रयोग भएको कम्प्युटर, टेवल, किबोर्ड, टेलिफोन लगायतका कर्मचारी तथा सेवाग्राहीको प्रत्यक्ष सम्पर्कमा रहने समान तथा स्थानमा समेत डिसइन्फेक्टेड स्प्रे गरीने मार्गदर्शमा उल्लेख छ । त्यसका साथै वर्क फ्रम होमलाई स्वीकृति दिने तथा प्रविधिको उच्च प्रयोग गरेर सेवा प्रवाहलाई निरन्तरता दिने मार्गदर्शमा उल्लेख छ ।