कारोबार संवाददाता
मंगलबार, चैत्र २५, २०७६
577

मानव सेवाआश्रम बुटलमा आश्रित १ सय ३० जना सडक बालबालिका तथा असहाय व्यक्तिहरूलाई कामना सेवा विकास बैंकले राहत स्वरूप चामल, दाल, चिउरा, तेललयागतका विभिन्न खाद्य सामग्रीहरू प्रदान गरेको छ । बैंकका सञ्चालक भीमप्रसाद तुलाचन तथा बुटवल क्लस्टर प्रमुख खिमलाल भुसालले संयुक्त रूपमा उक्त राहत सामग्री सेवा आश्रमका संयोजक सरु अधिकारी र सहसंयोजक टीकामाया थापालाई हस्तान्तरण गरेका थिए । संयोजक अधिकारीले विपतको बेलामा बैंकले गरेको सहयोग प्रति धन्यवाद दिनु हुंँदै अन्य संघ–संस्थाहरूले समेत सहयोगका हात अगाडि बढाउने आशा गरेको बताए । यसैगरी लकडाउनका कारण दैनिक ज्यालामजदुरी गर्ने परिवार तथा न्यून आय भएका व्यक्तिहरूलाई समेत जीविकोपार्जनका लागि निकै गाह्रो भएकाले उनीहरूलाई राहत प्रदान गर्नका लागि बुटवल उप–महानगरपालिका–७ का अध्यक्ष कमल थापामार्फत खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो । यसैगरी सुर्खेत जिल्ला वीरन्द्रनगर नगरपालिका–७ लाई ६४ हजार रुपैयाँबराबरका चामल, दाल, नुन, तेललगायतका खाद्य साम्रगी हस्तान्तरण गरेको छ ।
बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भए पनि पीडित तथा विपन्नवर्गलाई राहत मिल्ने विश्वास बैंकले लिएको छ । यसैगरी बैंकले मंगलबार कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका–१ गुगौलीस्थित आगलागीबाट पीडित २५ घर परिवारलाई राहत स्वरुप लत्ताकपडा वितरण गरेको छ । यही चैत २१ गते भीषण आगलागीबाट २५ घर जली नगद, लत्ताकपडा, भाँडाकुसहित सम्पूर्ण सामानहरू नष्ट भएका थिए । बैंकका बुटवल क्लस्टर प्रमुख खिमलाल भुसालले उक्त राहत सामग्री वितरण गरेका थिए ।