भुवन पौडेल
मंगलबार, चैत्र २५, २०७६
841

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । चैत ५ गतेदेखि रिक्त रहेको केन्द्रीय बैंकको गभर्नरमा सरकारले राष्ट्र बैंकमै तीन दशक बिताएका अधिकारीलाई सोमबार गभर्नरमा नियुक्त गरेको हो । उनले सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणासँग सपथ लिइ १७ औं गभर्नरका रूपमा पदबहाली गर्नेछन् ।
सरकारले केही दिनअघि गठन गरेको गभर्नर नियुक्तिका लागि छनोट समितिले सोमबार नै पूर्वसचिव केशव भट्टराई, डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र अधिकारीको नाम सिफारिस गरेको थियो । समितिले सिफारिस गरेका तीन मध्येबाट सरकारले एक जनालाइ गभर्नरमा नियुक्त गरेको हो । सोमबार नै बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस भएका तीनजना मध्येबाट अधिकारीलाई आगामी ५ वर्षका लागि गभर्नरमा नियुक्त गरेको हो ।

२०४२ सालमा नेपाल राष्ट्र बैंकको सहायकका रूपमा सेवा प्रवेश गरेका अधिकारी डेपुटी गभर्नरबाट सेवानिवृत्त भएका थिए । यसअघि पनि उनी गभर्नरको सिफारिसमा परेका थिए तर तत्कालीन सरकारले डा. चिरञ्जीवी नेपाललाई गभर्नरमा नियुक्त गरेको थियो । दोस्रो पटकको सिफारिसमा गभर्नर भएका अधिकारीले केन्द्रीय बैंकको उच्च तहमा रहँदा बैंकिङ क्षेत्रको अन्तर्राष्ट्रिय अभ्यास बासल–२ लाई कार्यान्वयन गराउनमा मुख्य भूमिका खेलेका थिए । बासल–२ कार्यान्वयन समितिको संयोजकको रूपमा काम गरेका अधिकारीले वित्तीय क्षेत्रलाई नजिकबाट बुझेको हुनाले पनि आगमी कार्यकाल सहज र सफल रहने अनुमान गर्न सकिन्छ ।
केन्द्रीय बैंकमा रहदा अधिकारीले बैंक सञ्चालन, वित्तीय व्यवस्थापन, नियमन, सुपरिवेक्षणलगायतमा विभागमा रहेका काम गरेका थिए । ३० वर्ष केन्द्रीय बैंकमा विताएका अधिकारीरालाई नेपाल राष्ट्र बैंकले नै इण्डियामा चार्टर्ड एकाउन्टेन्ट पढ्न पठाएको थियो । अर्थ मन्त्रालयमा समेत प्रत्यक्ष संलग्न भएका काम गरेका अधिकारी राष्ट्र बैंकमा हुदाँ नेपाल बंगलादेश बैंकको व्यवस्थापन सम्हालेर बैंकलाई पुरानो अवस्थामा फर्काउन सफल भएका थिए ।
बैंकमा वित्तीय अनियमितता भएपछि केन्द्रीय बैंकले व्यवस्थापनमा हस्तक्षेप गरेको थियो । बंगलादेश बैंकको व्यवस्थापन राष्ट्र बैंकले लिइ अधिकारीलाई जिम्मा लगाएको थियो । संसारमा बिरलै हुने यसप्रकारको घटनाको सहज अवतरण गराउनमा उनी सफल भएका थिए ।
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरबाट आकास पाएपछि अधिकारीले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । बोर्डमा पनि अधिकारीले ४ वर्षको कार्यकाल लगभग पूरा गरिसकेका छन् । आगामी असारदेखि उनको पदावधि सकिने अवस्थामा थियो ।

अधिकारीका चूनौती
राष्ट्र बैकको स्वायत्तता कायम राख्नु
कोरोनाको त्रासदीबाट आत्तिएको अर्थतन्त्रलाई राहत दिनु
डिजिटल बैकिंगलाई प्रबद्र्धन गर्नु
बैक तथा वित्तीय संस्थाहरुको प्रबिधी बलियो बनाउनु