कारोबार संवाददाता
मंगलबार, फाल्गुन ६, २०७६
513

सिटिजन्स बैंक इन्टरनेसनल र ई–सेवा मनी ट्रान्सफरकाबीच विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ । यस सम्झौताबमोजिम अब ई–सेवा मनी ट्रान्सफरमार्फत विदेशबाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैंकको नेपालभर रहेको ८९ वटा शाखाबाट सहज रूपमा भुक्तानी पाउन सकिने छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब ५ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । ग्राहकवर्गहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्बा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ ।
सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरूसमेत सञ्चालनमा ल्याएको छ ।