कारोबार संवाददाता
शुक्रवार, पुष ४, २०७६
906

मुलुक पर्यटन वर्ष मनाउने अन्तिम तयारीमा जुटिरहेका बेला काठमाडौं वृहत राष्ट्रिय सम्मेलन सुरु हुने भएको छ । सोसाइटी अफ नेप्लिज आर्किटेक्ट (सोना)को आयोजनामा आजदेखि काठमाडौंमा सम्मेलन हुने भएको छ । सम्मेलनमा देशभरका पाँचसय भन्दा बढीको सहभागिता हुँदैछ । सोनाका महासचिव सुरज खनालका अनुसार नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै ‘आर्किटेक्चरल रेस्पोन्सेस टू टुरिजम इन नेपाल’ भन्ने एजेण्डासहितको सम्मेलन आयोजना गर्न लागिएको हो ।
पर्यटकीय क्षेत्र आर्किटेक्चरल हिसाबले जति मजबुत हुन्छ त्यतिनै पर्यटकीय सम्भावना बढ्ने हुनाले यसतर्फ सरकारको ध्यानआकृष्ट गर्न सम्मेलन सहयोगी हुने आयोजकको दावी रहेको छ । सम्मेलनले आर्किटेकटहरुको विगतको भूमिकाको समिक्षा गर्दै आगामी प्रयत्नलाई थप प्रभावकारी बनाउन सहयोग पु-याउने सोनाकी अध्यक्ष अञ्जु मल्ल प्रधानले बताइन् ।
सम्मेलनमा शहरको परिकल्पना, विपद्पछिको संरचना र पर्यटकीय पूर्वाधारमा नयाँ मार्गप्रसस्त गर्न छुट्टा छुट्टै छलफल हुने सोनाका महासचिव खनालले जानकारी दिए । कम लागतमा नै संरचनालाई दीगो र बहुउपयोगी बनाउन आर्किटेक्टको भूमिका महत्वपूर्ण रहने भन्दै मुलुकको पर्यटन विकासमा टेवा पु-याउन सम्मेलनको आयोजना गरिएको खनालको दावी छ । सम्मेलन दुईदिनसम्म चल्नेछ । सम्मेलनमा आर्किटेक्ट, व्यवसायी, सरकारी निकायका साथै नेपालका पर्यटन र निर्माणक्षेत्रसँग जोडिएका अग्रणी संस्थाहरुको समेत सहभागिता रहनेछ ।